काठमाडौं– नेपालमा सञ्चालित ठूला परियोजनामा काम गर्ने १ हजार ५१४ विदेशी नागरिकले गत वैशाखदेखि कात्तिक मसान्तसम्म काम गर्ने अनुमति (श्रम स्वीकृति) लिएका छन्। नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनामा विदेशी नागरिकले काम गर्दै आएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बताएको छ।
विशेषगरी चीनको अनुदानमा सञ्चालित र चिनियाँ ठेकेदारले काम गरिरहेका परियोजनामा प्राविधिक जनशक्ति आफ्नै देशबाट ल्याउने गरेका हुन्। नेपालमा दक्ष इन्जिनियर रहे पनि विदेशीको सहयोगमा सञ्चालित परियोजनामा तल्लो पदमा नेपालीलाई काम दिइने गरेको छ भने माथिल्लो पदमा आफ्नै देशबाट प्राविधिक जनशक्ति ल्याउने गरेका छन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन्। विभागका अनुसार रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली हाइड्रोपावर कम्पनी, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्सका उच्च प्राविधिक श्रमिक विदेशी रहेका छन्।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा नयाँ र नवीकरण गरेर ६७१ जनाले श्रम स्वीकृति लिएका छन्। गत आवको सोही अवधिमा नवीकरण र नयाँ गरी ७२० विदेशीले श्रम स्वीकृति लिएका थिए, जुन गत आवको तुलनामा ४९ जनाले घटेको छ।
विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ। सोही कानुनअनुसार विदेशी नागरिक स्वदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेको विभागका महानिर्देशक कृष्ण ज्ञवालीले बताए।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिनामा २ लाख ६५ हजार १८५ जना रोजगारीका लागि विदेशिएका छन्। आव २०७९÷८० को पहिलो महिना साउनमा ६३ हजार भदौमा ७६ हजार, असोजमा ५६ हजार र कात्तिक ७० हजारले श्रम स्वीकृति लिएका छन्।
विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ। तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेका छन्।
श्रमविज्ञ पूर्णचन्द्र भट्टराईले नेपाली श्रम बजारमा स्वदेशी जनशक्ति उपलब्ध हुन नसके मात्र दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई श्रम स्वीकृति दिनुपर्ने व्यवस्था बताए। नेपालमा काम गर्ने विदेशीको श्रम स्वीकृति अधिकतम ६ वर्षसम्म मात्र नवीकरण हुने व्यवस्था छ।
यसैगरी एकै प्रकृतिको कामका लागि श्रम स्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम रहेको छ।
विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिएका ६९ देशका नागरिकमध्ये सबैभन्दा बढी चिनियाँ छन्। श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ।
विभागका अनुसार आव २०७८÷७९ मा नेपालमा काम गर्न २ हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका थिए। सोही अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाले पुनः श्रम स्वीकृति लिएका थिए। आव २०७७÷७८ मा २ हजार ३९३ विदेशी नागरिकले श्रम इजाजत लिएका छन्
गत आर्थिक वर्ष नेपालमा श्रम इजाजत लिनेमध्ये सबैभन्दा धेरै अर्थात् झन्डै ७५ प्रतिशत चिनियाँ नागरिक छन्। २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा काम गर्न इजाजत लिने विदेशीमा १ हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक छन् । विभागका अनुसार २०७९ यता वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ र साउनमा १६० गरी कुल १ हजार ४३ जना विदेशीले विभागबाट श्रम इजाजत लिएका छन्।