काठमाडौं– नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र मिस नेपाल वल्र्ड २०२२ की प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेटर खड्का एवं जोशीले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवा दिँदै आएको उल्लेख गरे। उनले नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयमार्फत टेलिकमको बजार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नवनियुक्त ब्रान्ड एम्बेसडर खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमसँग पुनः आबद्ध हुन पाएकामा खुसी लागेको बताए। यस्तै, जोशीले सुरुदेखि नै टेलिकमको सेवा उपयोग गरिरहेको र नयाँ पुस्तालाई कम्पनीकै सेवा प्रयोग गर्न अभिप्रेरित गर्न सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
ब्रान्ड एम्बेसडरद्वयमध्ये खड्कासँग १ पुसदेखि एक वर्षका लागि र प्रियंकासँग अर्को मिस नेपाल छनोट हुने अवधिसम्मका लागि सम्झौता सम्पन्न भएको कम्पनीले बताएको छ।