गोरखा– गोरखाको अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरि पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेकामा लाभग्राहीको घरघरमा पुगेर बैंकिङ प्रणालीमार्फत नै भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।
‘गाउँपालिकाको चिसाङबाट दिनभरि नै हिँडेर बैंकसम्म आएर भत्ता बुझ्नपर्ने कठिनाइ थियो,’ उनले भने, ‘लाभग्राहीलाई भत्ता बुझ्न सवारी साधन रिजर्भ गरेर आउँदा ३ हजार बढी खर्च हुने र कतिपय ठाउँबाट हिँडेर आउँदा एकै दिनमा भत्ता बुझेर फर्कन नसक्ने अवस्था पनि भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन घरघरमा पुगेर सामाजिक भत्ता वितरण गर्न थालिएको हो।’
गाउँपालिकाभित्रका सबै लाभग्राहीले घरमै हातहातमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सुरु गरेको अध्यक्ष देवकोटाले बताए। गाउँपालिकाले बैंकसँगको सहकार्यमा बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारी, वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असहाय, एकल महिलालगायत सबै लाभग्राहीलाई बैकिङ प्रणालीमार्फत नै सामाजिक भत्ता उपलब्ध गराउन थालेको उनले जानकारी दिए।
घन्टौं लगाएर कष्टपूर्ण ढंगबाट सामाजिक भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही खुसी भएका छन्।–रासस