बुधबार, असार २५, २०८२

आयात रोक्न प्याजमा अनुदान दिँदै कृष्णपुर नगरपालिका

स्वदेशमै प्याज उत्पादन गरी आयातमा रोक लगाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदान कार्यक्रम ल्याएको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

कञ्चनपुर– प्याज आयातमा सरकारले बर्सेनि करिब ५ अर्ब बढी रकम खर्च गर्ने गरेको छ। नेपालमा भारत, चीन, बंगलादेशलगायतका मुलुकबाट प्याज आयात हुने गर्छ। तीमध्ये सबैभन्दा बढी प्याज नेपालले भारतबाट आयात गर्दछ। भारतबाट मात्रै करिब ९० प्रतिशत प्याज नेपाल आउने गरेको छ।

कोरोना महामारीको समय भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको अभाव चर्किएको थियो। स्वदेशमै प्याज उत्पादन गरी आयातमा रोक लगाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अनुदान कार्यक्रम ल्याएको छ। नगरपालिकाले प्याजको बिउमा ५० प्रतिशत अनुदान दिएर नगरभित्रका सबै कृषकलाई वितरण गर्न थालेको छ। 

प्याज आयात रोक्न र नगरमै कृषकलाई आत्मनिर्भर बनाउन प्याजमा अनुदान दिइएको नगरपालिकाका प्रमुख हेमराज ओझाले बताए। प्याज खेतीलाई व्यावसायिकीकरण गरी कृषकलाई स्वरोजगार दिलाउन बिउ वितरण गरिरहेको उनको भनाइ छ। ‘अहिले हामीले बिउ मात्रै अनुदानमा वितरण गरेका छौं’, उनले भने, ‘आगामी वर्षदेखि यसलाई बृहत् रूपमा व्यावसायिकीकरण गर्न खोजिरहेका छौं। यसमा कृषकले समूह बनाए थप अनुदान पाउनेछन्।’ 

उनले अनुदानमा बिउ लगेर आफू खानलाई मात्रै नभई व्यावसायिकीकरण गरी आयआर्जनका लागि पनि उमार्न कृषकलाई आग्रह गरे। ‘नगरलाई प्याजमा आत्मनिर्भर बनाउन त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाए मात्रै सम्भव छ’, उनले भने, ‘त्यसैले आफ्नो आर्थिक स्रोत  बनाउने किसिमले प्याज उत्पादन गर्नुपर्छ। व्यावसायिक रूपमा भए भोलिका दिनमा थप अनुदानका कार्यक्रम दिन सकिन्छ।’

उनले नगरपालिकाले प्याजसहित च्याउ, गहुँ, धानलगायतका कृषि उत्पादनका लागि पनि अनुदान दिएको बताए। नगरपालिकाले प्याज आयातमा कमी ल्याउन अनुदानमा बिउ वितरण गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीले जानकारी दिए। उनले चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई ३ लाखको बिउ वितरण गरेको बताए।

‘प्याजको परनिर्भरतामा कमी ल्याउन हामीले बिउ वितरण  गरिरहेका छौं’, उनले भने, ‘नगरबाट चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाको १ लाख ५० हजार र सोहीअनुसार कृषकको गरी ३ लाख बराबरको बिउ वितरण गर्नेछौं।’ 

उनले चालू आर्थिक वर्षमा नगरका सबै वडाका कृषकलाई अनुदानमा बिउ वितरण गर्ने र आगामी आर्थिक वर्षदेखि पकेट क्षेत्रका रूपमा वितरण गरिने बताए। ‘अहिले यो पहिलो वर्ष भएकाले सबैलाई प्याजको बिउ वितरण गरिरहेका छौं’, उनले भने, ‘आगामी वर्षदेखि पकेट क्षेत्रका रूपमा विकास गरी आवश्यक क्षेत्रमा मात्रै वितरण गर्नेछौं।’ 

उनले चालू आर्थिक वर्षमा भने किसानलाई मागका आधारमा प्याजको बिउ वितरण गरिरहेको बताए। वडागत रूपमा प्याजको उत्पादन हेरेर पकेट क्षेत्र छनोट गरिने उनको भनाइ छ। यसअघि अन्य तरकारी तथा बालीका बिउ वितरण गरे पनि प्याजको बिउ भने नगरपालिकाले पहिलो पटक वितरण गरेको हो। 

प्याजको आयात लगातार बढिरहेपछि कृषि मन्त्रालयले करिब एक दशकअघि ‘मिसन प्याज’ कार्यक्रम अगाडि सारेको थियो। देशभित्रै प्याजको उत्पादन बढाउन तराईका रुपन्देही, सप्तरी, सिरहा, रौतहट, बारालगायत जिल्लामा यो अभियान लागू गरिएको थियो।

किसानलाई प्याजको उन्नत बिउबिजन, मल र सिँचाइमा अनुदानलगायत प्रोत्साहन योजना यसले अगाडि सारेको थियो। तर बिउ अभावका कारण उक्त कार्यक्रम प्रभावकारी हुन सकेको थिएन। 

नेपालमा एक सिजनमा मात्रै उत्पादन हुने भएकाले पनि प्याजको आयात दिनानुदिन बढ्ने गरेको छ। नेपालमा प्रायः मंसिर–पुसमा रोपेर चैत–वैशाखमा उत्पादन हुने गरी एक मौसममा मात्र प्याज खेती गरिन्छ। यसरी उत्पादित प्याज अधिकांश घरायसी प्रयोजनमै प्रयोग हुन्छ । व्यावसायिक रूपमा उत्पादन गरी बजारमा पठाउने किसान कमै छन्।

बिउ पाउँदा स्थानीय खुसी

नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिउ वितरण गर्दा स्थानीय खुसी देखिएका छन्। वडा–५ की नवीना बडुले बजारमा महँगोमा पाइने प्याजको बिउ नगरपालिकाले अनुदानमा दिँदा खुसी लागेको बताइन्। नगरपालिकाबाट पाइएको बिउ उत्पादन गरी बिक्री वितरण गर्ने उनको धारणा छ।

‘प्याजको बिउ लगेर गएकी छु। यसको उत्पादन गरेर बिक्री वितरण गर्छु। बजारबाट किनेर खानुभन्दा आफैंले उत्पादन गरेपछि आफ्ना लागि पनि प्याज भइहाल्छ’, उनले भनिन्। सोही वडाकी स्थानीय पार्वती चौधरीले अनुदानमा बिउ पाउँदा आफू हर्षित भएको बताइन्। उनले अनुदानमा पाएको प्याज र च्याउको बिउलाई राम्रोसँग हुर्काएर आयस्रोतको माध्यम बनाउने बताइन्। 

यसैगरी वडा–६ का जनकबहादुर चौधरीले तरकारीका लागि नगरपालिकाबाट च्याउको बिउ लगेको सुनाए। बजारमा महँगो मूल्यमा पाइने बिउ ५० प्रतिशत अनुदानमा पाउँदा खुसी लागेको उनको भनाइ छ। नगरपालिकाबाट पाँच पोका च्याउको बिउ लगेका उनले आफू खान र बिक्री गर्न लगेको बताए। ‘पहिला बजारबाट किनेर लगाउने गर्थें’, उनले भने, ‘अहिले नगरपालिबाट अनुदानमा पाएको छु। बजारभन्दा सस्तो पाउँदा एकदमै खुसी लागेको छ।’–रासस

प्रकाशित: Dec 07, 2022| 17:41 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्