शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • भिनाजुले हत्या गरेपछि अपूरै रह्यो पदमको घर ठड्याउने सपना

भिनाजुले हत्या गरेपछि अपूरै रह्यो पदमको घर ठड्याउने सपना

मंगलबार साँझ करिव सवा ७ बजेतिर घरनजिकैको कुमारीबाग चोकमा उनका भिनाजु नाता पर्ने गौरीलाल ढुंगानाले हँसिया प्रहार गरेर हत्या गरे। हँसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ कुमारी बाग बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो। घटनामा अर्का एक जना साला पर्ने घाइते भएका छन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- कैलालीको जोशीपुर गाउँपालिका-६ कुमारीबाग चोकमा मंगलबार बेलुकी मान्छेहरू गफिरहेका थिए। त्यही चोकमा थिए ३३ वर्षीय पदमराज भण्डारी। उनी भारत काम गर्थे। एक महिनाअघि मात्रै पदम भारतबाट घर फर्किएका हुन्। उनको सामान्य परिवार हो। ७३ वर्षीय वयोवृद्ध बुबा, ६५ वर्षीया आमा, श्रीमती, चार वर्षीय छोरा, चार महिने छोरीसहित परिवारको खुसीका लागि उनी भारत गएर ज्यालामजदूरी गर्थे।

दु:ख गर्दै कमाएको थोरै पैसाको जोहोले पदमले यस वर्ष घर बनाएर परीवारमा थोरै भए पनि खुसी थप्ने योजना बुनेका थिए। सोही अनुरुप घर आएको एक महिनामा उनले गाउँमा पक्की घरका लागि जग हाले। ढुंगा, इट्टा, गिट्टी र बालुवा बोकाए। यता काम हुँदै गर्छ। घरका अरु मानिसले घर ठड्याउँदै गर्छन्। फेरि भारत जानुपर्छ भनेर उनले योजना बनाएका थिए। यही मंसिर १५ गते भारत जान पनि खोजेका हुन्। तर, घरको कामलाई एउटा गतिमा लगेर जाने सोचका साथ उनी रोकिए।

तर, अब उनले कहिले भारत फर्किन नसक्ने गरी संसार त्यागे। मंगलबार साँझ करिव सवा ७ बजेतिर घरनजिकैको कुमारीबाग चोकमा उनका भिनाजु नाता पर्ने गौरीलाल ढुंगानाले हँसिया प्रहार गरेर हत्या गरे। हँसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ कुमारी बाग बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो। घटनामा अर्का एक जना साला पर्ने घाइते भएका छन्। 

सामान्य विवादका क्रममा ५० वर्षीय भिनाजु ढुंगानाले पदमको हत्या गरेको स्थानीयले बताएका छन्। स्थानीय डम्बर जोशीले सामान्य विवादका क्रममा घटना घटेको सुन्नमा आएको बताए। 

'ढुंगानाले सधैँ मदिरा सेवन गर्थे। उनले आफ्नी श्रीमतीलाई पनि कुटपिट गर्ने गरेका थिए। गाउँमा पनि रक्सी सेवन गरेर  विवाद गर्ने र तिमीहरूलाई सिध्याइदिन्छु भन्दै धम्की दिन्थे। उनको व्यवहारले गाउँले आजित थिए,' जोशी भन्छन्।

पदमको ठूलो बुवाको छोरीसँग गौरीलालले बिहे गरेका थिए। मृतक पदम काइलो बुवाको छोरा हुन्। उनीहरूको घर पनि नजिकै छ। दिनदिनै आफ्नी दिदी हिंसामा परेको देखेर पदमको मन दुखिरहन्थ्यो। त्यसैले उनले भिनाजुलाई दिदीलाई मानसिक र शारीरिक यातना नदिन आग्रह गर्दै आएका थिए। तर, भिनाजुलाई सम्झाउन खोज्दा आफ्नै ज्यान गुमाउन पुगे।

उनीसँगै काइलो ससुराको छोरा जयराज भण्डारीलाई पनि गौरीलालले हँसिया प्रहार गरेर घाइते बनाएका छन्। ४० वर्षीय जयराज गम्भीर घाइते भएका छन्। उनको अहिले कोहलपुरमा उपचार भइरहेको छ। जयराजले अटो चलाउँदै जीविकोपार्जन गर्दै आएका छन्। उनको घर कुमारीबागबाट करिव तीन किलोमिटरको दूरीमा भगतपुरमा पर्छ। उक्त समयमा अटोसहित जयराज पनि त्यही पुगेकाले उनीमाथि पनि गौरीलालले आक्रमण गरेको बताइएको छ।

पूर्वमाओवादीसमेत रहेका गौरीलाल पनि भारत काम गर्दै आएका थिए। उनी एक वर्ष यता घरमै थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रसाद जोशीले आरोपित ढुङ्‍गाना फरार हरेको र उनको खोजीकार्य तीव्र पारिएको जानकारी दिए। डीएपी जोशीले फरार भएका ढुङ्‍गानाको खोजीका लागि प्रहरीको दुई वटा टोली परिचालन गरिएको बताए।

प्रकाशित: Dec 07, 2022| 14:12 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।