बुधबार, असार २५, २०८२

आलुको बजारीकरण जिम्मा लिँदै रामपुर नगरपालिका

पाल्पाको रामपुर नगरपालिकाले आलु उत्पादनमा बिउ र बजारीकरणको जिम्मा लिएपछि किसानको आम्दानी स्रोत बलियो हुँदै।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

रामपुर (पाल्पा)– रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो। उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन्। सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा उनलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो। कहिलेकाहीँ घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनुपथ्र्यो। 

अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको खायन आलु बजारीकरणको प्रबन्धका गरिदिने भएपछि उत्साहित हुँदै आलु खेतीमा लागेकी छन्। ‘खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौं भन्ने समस्याले सधैं सताउँथ्यो। धेरै पटक घरमै उम्रेर, कुहेर फाल्नुपरेको छ’, उनले भनिन्, ‘अहिले नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बिउमा अनुदान दिएको छ। बजारीकरणको पिरलो नहुने भएपछि ढुक्कले खेतमा आलु लगाइएको छ।’

उनले यस वर्ष करिब दुई क्विन्टल आलु लगाएकी छन्। उत्पादित आलुको बजारीकरण व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएपछि ढुक्कले आलु खेती लगाइएको उनले बताइन्। रामपुर–७ का अगुवा आलु उत्पादक किसान यमकान्ती गौतमले यस क्षेत्रमा धेरै आलु उत्पादन गर्दै आएका छन्। बर्सेनि गौतमले करिब १०० क्विन्टल बिउ तथा आलु उत्पादन गर्छन्। धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजारकै समस्या खड्किन्छ।

उनले पाँच–सात वर्षदेखि व्यावसायिक रूपमा आलु खेती गरिरहेका छन्। ‘धेरै आलु उत्पादन भएपछि घरमा भण्डारण गरेर राख्ने ठाउँ अभाव, बजारमा झट्ट बेच्नै गाह्रो। समयमै रामपुरमा आलु नबिकेर बाहिरका विभिन्न बजारमा कम मूल्यमा पठाइयो। बजारीकरणको राम्रो प्रबन्ध नहुँदा कहिलेकाहीँ लगानी नउठ्ने गरी बेच्नुपथ्र्यो। अब यस्तो समस्या भोग्न नपर्ने भएपछि किसानलाई धेरै सजिलो हुने भयो’,  उनले भने।

किसान गौतमले नगरपालिकाको अनुदान सहयोगमा ६ रोपनी जग्गामा करिब साढे ६ क्विन्टल खायन आलु लगाएका छन्। बजार सहज भए आलु उत्पादनलाई अझै बढाउँदै जाने उनी बताउँछन्। खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा १५ लाख ५० हजार बराबरको रकम किसानलाई अनुदान दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए। 

‘आलु उत्पादन वृद्धि गरी आयस्रोत बढाउने, बाहिरबाट आयातीत आलुलाई घटाउने, रोजगार सिर्जना गर्न नगरले किसानको मागको आधारमा आलु उत्पादन तथा प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ’, शाखा प्रमुख पाण्डेयले भने। 

उनका अनुसार यस कार्यक्रममा करिब ३०० सय किसान आबद्ध छन्। साढे ३०० क्विन्टल खायन आलुको बिउमा ५० प्रतिशत किसानलाई अनुदान रकम उपलब्ध गराउने कार्यक्रमअनुसार किसान आफैंले बिउ खरिद गरेर लगाएका छन्। 

फस्ट च्वाइस फुड प्रालि बुटवल बेलबासको सहकार्यमा रामपुर नगरपालिकाले खायन आलु उत्पादन कार्यक्रम सुरु गरेको छ। रामपुरमा उत्पादित आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै आलु खेती लगाएका छन्। कार्डिनल, खुमल उज्ज्वल, खुमल रातो, जनकदेव, टिपिएस जातका बिउ खरिद गरेर खेती गरेको किसानले बताएका छन्। 

किसानलाई आलु उत्पादनमा उप्रेरित गराउन अनुदान उपलब्ध गराउनुका साथै अन्यत्र बजारीकरणको प्रबन्ध र भण्डारण गर्न चाहे रामपुरमै शीतभण्डार व्यवस्था गरिएको रामपुर नगरपालिका प्रमुख रमणहादुर थापाले बताए। ‘किसानले उत्पादनमा जोड दिनुपर्छ। उत्पादित सामानले बजार नपाए त्यसको बजारीकरणको व्यवस्था नगरले गर्नेछ। दुई–चार किलो तरकारी, फलफूल उत्पादन गरेर बजार पाइएन भन्नुभन्दा पनि ठूलो परिमाणमा उत्पादन गरे बजारको जिम्मा हामी लिनेछौं’, नगरप्रमुख थापाले भने।

हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनार कृषक समूह, शुभप्रभात महिला कृषक समूहले रामपुर नगरपालिकाको अनुदान सहयोगमा खायन आलु खेती गरेका छन्। 

यस वर्ष झन्डै ३०० क्विन्टल आलुको बिउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ। खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र करिब ४०० रोपनी क्षेत्रफलमा आलु खेती गरिएको छ। रामपुरमा करिब २ हजार ५०० सय हेक्टरमा आलु खेती गरिँदै आएको छ।

पछिल्ला वर्षमा रामपुरमा पालिकाले बिउमा अनुदान दिन थालेपछि आलु खेतीमा किसानको ह्वात्तै आकर्षण बढेको छ। छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशमा धेरैले हिउँदयाममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन्। 

रामपुर क्षेत्रमा आलु उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ। रामपुरबाट बिक्रीका लागि अहिले तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौंसम्म सडक सन्जाल जोडिएपछि सवारीसाधनमा पठाउन सजिलो भएको छ।–रासस

प्रकाशित: Dec 08, 2022| 00:00 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्