काठमाडौं- सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम नेपालगञ्ज र जानकीमा यही मंसिर १० गते छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी 'गो क्यासलेस' अभियान सुरु गरेको छ।
जानकीमा आयोजित उक्त अभियानको उद्घाटन जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो। कार्यक्रममा जानकी गाउँपालिका– १ का अध्यक्ष सुरेश कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोस्टका प्रमुख प्रहरी सहायक निरीक्षक सुरतबहादुर बोहरा, दुर्गौलीबजार व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर विष्ट, स्थानीय बुद्धिजीवी मोहन उपाध्याय, टीकापुर रिक्सा व्यवसायी मूल समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्री, जानकी अटो सेवाका अध्यक्ष तथा अटोचालक मोहन खत्री, ई–रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वरप्रसाद महतो, विभिन्न टेम्पू व्यवसायीहरूको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा प्रमुख अतिथि जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरियाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई छनोट गरेर यस अभियानको थालनी गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिइन्। उनले भनिन्, 'यस अभियानले यस भेगका जनतालाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न बैङ्किङ साक्षरता प्रदान हुनेमा म विश्वस्त छु।'
त्यस्तै, नेपालगन्जमा आयोजित 'गो क्यासलेस' अभियानको उद्घाटन कार्यक्रमका नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगञ्जका उपनिर्देशक छविलाल घिमिरे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्दप्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पु व्यवसायीहरू र मिडियाकर्मीहरूको उपस्थिति थियो।