काठमाडौं- सामाजिक सञ्जालमार्फत हुने विकृतिविरुद्ध दर्शना स्कुलले ‘सामाजिक सञ्जाल’ शीर्षकको सडक नाटक मञ्चन गरेको छ। पछिल्लो पुस्तामा सामाजिक सञ्जालको लत र त्यसको प्रभावका कारण हुने दुर्घटनाबाट कसरी बस्ने भन्ने सन्देश दिन खोजिएको नाटक ‘सामाजिक सञ्जाल’मा छ।
सामाजिक सञ्जाल फेस्बुक, ट्विटर, इमो, टिकटकको दुरुपयोग गर्दा के-के हानी नोक्सानी हुन्छ र सही सदुपयोग गर्दा के-के फाइदा हुन्छ भनेर नाटकमा देखाइएको छ।
सुरेन्द्र क्षेत्रीको लेखन तथा निर्देशन गरिएको नाटक सामाजिक सञ्जाललाई काठमाडौंको कागेश्वरी मनोहराको विभन्न स्थानमा मञ्चन गरिएको छ।
नाटकमा आइवा रावना, नुजल दाहाल, सुरज न्यौपाने, रितिक खड्का, प्रकाशको अभिनय रहेको छ। यसअघि पनि दर्शना स्कुलले विद्यार्थीलाई लक्षित गरेर लागूऔषधको प्रयोग नगरौ भनेर सडक नाटक गरेको थियो। दर्शना स्कुलले प्रत्येक वर्ष समाजमा घटेको घटनालाई आधार बनाएर सडक नाटक गर्ने गरेको छ।