दोलखा- दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन्।
हालसम्म कूल २७ हजार ४१७ मतगणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीले १२ हजार ४९० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ११ हजार ४०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
दोलखाको प्रदेशसभा १ मा २२ हजार ५५६ मतगणना हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार ६६९ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले नौ हजार २११ मत प्राप्त गरे।
प्रदेशसभा २ मा २७ हजार ४८१ मतगणना हुँदा एमालेका भरत केसीले १२ हजार ३३७ र कांग्रेसका बर्मा लामाले १२ हजार २२० मत प्राप्त गरेका छन्। दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियो।
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।