काठमाडौं- देशका विभिन्न भागमा भएका दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
धनुषाको गणेशमानचारनाथ नगरपालिका-४ वीरेन्द्रबजारमा ना.१ ज ८३९६ नम्बरको विङगर गाडी र ज.१ च १४९६ नम्बरको पिकअप गाडी एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ना.१ ज ८३९६ नम्बरको विङगर गाडीमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी १३ वर्षीय बालकको घटनास्थलमै र गम्भीर घाइते भएका सोही गाडीका चालक धनौजी गाउँपालिका-४ धनौजी बस्ने २५ वर्षीय अब्दुल मन्सुरी समेत ४ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका विङगरमा सवार अन्य ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै गाडी र ज.१ च १४९६ नम्बरको पिकअपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाकै धनुषाधाम नगरपालिका-९ धारापानीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।
यसैगरी धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा काठमाडौंबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्र.३-०१-००१ ग ३९२७ नम्बरको वानटन गाडीले बा.८९ प ९७२५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बेलायती नागरिक ३५ वर्षीय रुसेल एन्ड्री मिल्गीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको मेचीनगर नगरपालिका-१० निन्दा पुलस्थित सडकमा प्र १-०१-१२ प ४३७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७१ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको रोशन मेडिकल धुलाबारीमा उपचार भइरहेको छ।
झापाकै अर्जुनधारा नगरपालिका-४ भाङबारीमा लक्ष्मीपुरबाट रातेखालतर्फ जाँदै गरेको बागमती प्रदेश ०२- ०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक पाँचथर फिदिम नगरपालिका-१ बस्ने ३५ वर्षीय गंगाराम काफ्लेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
उता महोत्तरीको बर्दिबास नगरपालिका-५ महरा खोल्सी पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको गएराति घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
यसैगरी रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.४९ प १५४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-१४ सुकैली बस्ने २५ वर्षीया सोहीक्षा पुनको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
यस्तै सर्लाहीको हरिपुर नगरपालिका-४ हरैयामा ना.५६ प ४२२६ नम्बरको मोटरसाइकल प्र.३-०१-०२४ च २६४७ नम्बरको कारमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका-७ बस्ने २५ वर्षीय डोक बहादुर लामाको मृत्यु भएको छ।
प्र.२-०३-००१ ख ६२२९ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा उक्त मोटरसाइकल कारमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामाको स्वभिमान अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। तीन वटै सवारी साधन तथा ट्रक र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।