काठमाडौं– नेपालमा उत्पादित कफीको आन्तरिकसँगै अन्तर्राष्ट्रिय बजार बढ्दै गएको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि नेपाली कफीको निर्यात बढेको भन्सार विभागको तथ्यांकले देखाएको हो।
विभागका अनुसार आव २०७८/७९ मा ११ करोड ७९ लाख ८५ हजार बराबरको ६९.५ मेट्रिक टन निर्यात भएकामा १२ करोड ७६ लाख ९० हजार बराबरको २७९.८ मेट्रिक टन कफी आयात भएको थियो। आव २०७७/७८ मा नेपालबाट ९ करोड ६० लाख ३ हजार बराबरको ७२.४८ मेट्रिक मेट्रिक टन निर्यात भएको छ भने १० करोड ६७ लाख २१ हजार बराबरको १९८ मेट्रिक टन कफी आयात भएको थियो।
आव २०७६/७७ मा ५ करोड ७७ लाख २८ हजार बराबरको ४६.८९ मेट्रिक टन निर्यात भएकामा ११ करोड ८ लाख ४९ हजार बराबरको २६६ मेट्रिक टन कफी आयात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। नेपालमा कफीको आयात/निर्यात दुवै बढेको बोर्डले बताएको हो।
बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी कफीको माग बढेकाले निर्यात बढ्दै गएको जानकारी दिए। अन्य देशको तुलनामा नेपालमा उत्पादित कफी उच्च गुणस्तरको भएकाले बर्सेनि निर्यातमा वृद्धि भएको उनको भनाइ छ। नेपालमा उत्पादित कफी कोरिया, जापान, अमेरिका, युरोपेली मुलुकलगायत देशमा निर्यात हुने गर्छ भने अस्ट्रेलिया, चीन, इथियोपिया, हङकङ, भारत, कोरिया, कतारलगायत देशबाट कफी आयात हुने गरेको छ।
कफी खेती गर्ने क्षेत्रफल बढ्दै गए पनि उत्पादनमा भने सोहीअनुसार बढ्न सकेको छैन। बोर्डका अनुसार आव २०७५/७६ मा २ हजार ७६१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएकामा आव २०७८/७९ मा बढेर ३ हजार ३४३ हेक्टर पुगेको छ।
आव २०७५/७६ मा ५३० मेट्रिक टन कफी उत्पादन भएकामा आव २०७८/७९ मा घटेर ३५५ मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्यांक छ। आव २०७६/७७ मा २ हजार ३६० हेक्टर क्षेत्रफलमा कफी खेती भएकामा आव २०७७/७८ मा खेती गरिएको जमिन बढेर ३ हजार ५२ हेक्टर पुगेको छ। आव २०७६/७७ मा २९७ मेट्रिक टन कफी उत्पादन भएकामा आव २०७७/७८ मा १३५ मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्यांक छ।
बोर्डले १ मंसिरदेखि लागू हुने गरी कफीको नयाँ मूल्य निर्धारण गरेको छ। नयाँ मूल्यअनुसार फ्रेस चेरी कफीको मूल्य प्रतिकेजी ९५ रुपैयाँ निर्धारण गरिएको छ। ग्रेड ‘बी’ कफीको मूल्य प्रतिकेजी ८५, पार्चमिन्ट कफी ग्रेड ‘ए’को प्रतिकेजी ४७५ रुपैयाँ निर्धारण गरिएको छ। पार्चमिन्ट ग्रेड ‘बी ’को ४२० रुपियाँ मूल्य निर्धारण गरिएको छ। यस्तै, ड्राइ चेरी कफी ग्रेड ‘ए’को १७० र ग्रेड ‘बी’को ११५ रुपैयाँ मूल्य निर्धारण गरिएको विभागले जनाएको छ।
१८औं कफी दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ। प्रत्येक वर्ष १ मंसिरमा कफी दिवस मनाइँदै आएकामा निर्वाचनको आचारसंहिताले स्थगन भई शुक्रबार विभिन्न कार्यक्रम गरेर दिवस मनाइयो। ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादनमा हाम्रो अठोट’ नारासहित यो वर्ष कफी दिवस मनाइएको हो।