काठमाडौं– चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिनका लागि पत्र पठाएपछि प्रहरीले अनुसन्धान थालेको हो।
उनको नागरिकताविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। तर मतदान सम्पन्न भइसकेका कारण आयोगले कुनै एक्सन लिएन। त्यसपछि उनीविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि गृहले छानबिनका लागि काठमाडौं प्रशासनलाई पत्र लेखेको थियो। प्रशासनको पत्र प्राप्त भएपछि यसबारेमा अनुसन्धान सुरु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए।
रविविरुद्ध अमेरिकी नागरिकता लिए पनि नेपाली नागरिकता खारेज नगरेको आरोप लागेको छ। उक्त विवादपछि रविले अमेरिकी नागरिकता त्यागेका थिए। तर अमेरिकी नागरिकता त्यागेपछि नयाँ नागरिकता नलिएको र पुरानै नागरिकता प्रयोग गरेको आरोप उनीमाथि छ। यसैगरी अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको आरोप उनीमाथि छ। यसबारे उकेरा अनलाइनमा केपी ढुंगानाले समाचार लेखेपछि विवाद सतहमा आएको हो।
रविले २०५० सालमा जारी भएको पुरानै नागरिकता प्रयोग गरिरहेको आरोप छ।