काभ्रे– ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार ४५५ मत बदर भएको छ। प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३.७ प्रतिशत मत बदर भएको हो।
जिल्लामा १ लाख ८७ हजार ३३० जनाले मतदान गरेका थिए भने ३ लाख १० हजार ६३ मतदाता रहेका थिए। जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार ४६२ महिला तथा १ लाख ८ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए। क्षेत्र १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ ४ हजार ४२६ तथा समानुपातिकतर्फ ३ हजार ७२२ मत बदर भएको छ।
क्षेत्र १ प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ १ हजार ५८४, प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ १ हजार ४६३ तथा प्रदेशसभा (क) र (ख) मा समानुपातिकतर्फ ४ हजार ८७२ मत बदर भएका थिए। क्षेत्र २ मा प्रत्यक्षतर्फ ३ हजार ८३७, समानुपातिकतर्फ ३ हजार ९१३ तथा क्षेत्र २ (क) मा प्रत्यक्षतर्फ १ हजार ४५१, क्षेत्र २ (ख) मा १ हजार ७५१ तथा समानुपातिकतर्फ ५ हजार ४२६ मत बदर भएका थिए।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको मत परिणामअनुसार काभ्रेपलाञ्चोकका ५० उम्मेदवारको जमानत जफत भएको छ।प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो। धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन्।–रासस