काठमाडौं– कोरोनाअघि थिएटरमा दर्शकको बाक्लो उपस्थिति हुने गथ्र्यो। मन छुने नाटक मञ्चन हुने क्रम बाक्लिँदै थियो। रंगकर्मीहरू पनि उत्साहित थिए। जब ११ चैत २०७६ बाट कोभिडका कारण लकडाउन भयो। अन्य क्षेत्रजस्तै रंगमञ्च पनि यसबाट प्रभावित भयो।
लगभग दुई वर्षजस्तो कोरोनाले थलिएको नेपाली समाजमा लकडाउन खुकुलो भएसँगै रंगमञ्च पनि तंग्रिन थाल्यो। त्यसपछि रंगकर्मीहरू विभिन्न नाटक लिएर पर्दामा उत्रिए। मण्डला थिएटरले विमल सुवेदीको निर्देशनमा पल्पसा क्याफे, किरण चाम्लिङ राईको निर्देशनमा खुवालुङः ढुंगाको बाटो, नयनराज पाण्डेको उलार, जियारा कथा संग्रहभित्रको सर्पदंशमा आधारित नाटक कथा कस्तुरी, हिउँको पृथ्वी यात्रा, खतजस्ता नाटकले विस्तारै दर्शक फर्कायो। थिएटरमा दर्शक फर्किन थालेसँगै मण्डला थिएटरमा फेस्टिबलको निरन्तरता हो– नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९।
मण्डला थिएटरमा भइरहेको ९ दिने नाटक महोत्सवमा नेपाली नाटकसहित विश्वका दर्जन बढी उत्कृष्ट नाटक हेर्ने माहोल बन्यो। तर दर्शकको उपस्थिति भने सोचेजस्तो देखिएन। ‘२०१९ को जस्तो माहोल दोस्रो नाटक महोत्सवमा नभएकै हो’, फेस्टिबल निर्देशक सिर्जना सुब्बाले नेपाल समयसँग भनिन्, ‘कोरानायता थिएटरमा दर्शक फर्काउन अझै सकिएको छैन।’
९ मंसिरबाट सुरु भएका नाटक महोत्सवलाई चुनावले पनि केही प्रभाव पार्यो। चुनावी नतिजा आउने क्रममै भएकाले मानिसको ध्यान महोत्सवतिर फर्किन सकेन। सुब्बाका अनुसार कतारमा जारी विश्वकपको कारण पनि दर्शक घटेको लाग्छ। उनी भन्छिन्, ‘चनावको नतिजा प्रकाशनको क्रम र विश्वकप जारी भएको हुँदा दर्शकले समय पाएनन्। त्यसो हुँदा दोस्रो नाटक महोत्सव यो समयमा गर्नाले अलिकति मास बटुल्न नसकेको भन्ने लागेको छ।’
‘विदेशी नाटक खासै हेरेको थिइनँ। यो पटक हेर्न पाइयो’, मण्डला थिएटरमा बिहिबार साँझ मञ्चन भएको इटालीको नाटक ‘मेड इन इल्भा’ हेरेर निस्किएका एक दर्शकले भने। कहिल्यै विदेशी नाटक हेर्न नपाएका ती दर्शकले जस्तै थुप्रै नेपाली दर्शकले मण्डला थिएटरमा विश्वका विभिन्न देशका नाटक हेर्ने अवसर पाएका छन्। त्यसैले दर्शक नभएको भने होइन, अलिकति कम भए पनि निर्देशक सुब्बा नाटक महोत्सव समग्रमा सोचेजस्तो भइदिएको दाबी गर्छिन्। यसको कारणचाहिँ दर्शक नेपाली नाटकमा भन्दा विदेशी नाटकमा बढी देखिए। उनी भन्छिन्, ‘विदेशी नाटक हेर्ने दर्शक बढी देखिएका छन्।’
यसो हुनुको कारण महोत्सवमा देखाइएका नेपाली नाटक कथा कस्तुरी, खुवालुङ र मञ्चन हुन बाँकी कुभिण्डोको कथालाई पहिला पनि हेरिसकेको हुँदा दर्शकले विदेशी नाटकलाई समय दिएका छन्।
सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव नारासहित चलिरहेको महोत्सवमा देखाइएका नाटकमा विविधता पाइन्छ। विश्वका विभिन्न देशले नाटकमा गर्दै आएको प्रयोग र प्रस्तुतिको शैलीलाई कसरी भनिरहेका छन् भन्ने ज्ञान दर्शक र रंगकर्मी दुवैले पाउने बताउँछिन् सुब्बा। समावेशी नाटक भएन भन्ने गुनासो दर्शकदीर्घबाट आए पनि विश्व नाटकलाई समेट्दा नेपाली नाटक अझै समावेश हुन नसकेको उनको बुझाइ छ।
फेस्टिबलका लागि भनेर विशेष नाटक नै बनाउने गरिन्छ। ‘कुन किसिमको समावेशी हुन सकेन भन्ने हो। तर विश्व नाटकलाई एउटै मञ्चमा देखाउन खोज्नु पनि समावेशी नै हो भन्ने लाग्छ’, उनले भनिन्।
भारतको इभान हास्टिङ निर्देशित नाटक स्याडो लिबरेसन, श्रीलंकाको नाटक राजा मन, अमेरिकी अडियो नाटक ट्रि कन्फेसन, उरुग्वेको नाटक रियो, अमेरिका÷भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’, क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’, कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’, नेपाली नाटक ‘खुवालुङ ः ढुंगाको बाटा’ मञ्चन भएका छन्। आठौं दिन शुक्रबार भारत र कस्ट्यान्जा विटअफ निर्देशित अर्जेन्टिनी नाटक ‘नोम्याड’ मञ्चन हुँदै छन्।
१७ मंसिरसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्। नाटक महोत्सव शनिबारसम्म चल्नेछ।