काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नियमविपरीत असुल गरेको व्याज १५ दिनभित्र फिर्ता दिन दिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्र लेख्दै कात्तिक मसान्तसम्म कति ऋणीहरुको खातामा नियम विपरीत असुल गरिएको व्याज फिर्ता भयो र कति रकम फिर्ता गर्न बाँकी छ भन्नेबारे विस्तृत विवरण १५ दिनभित्र उपलव्ध गराउन पनि निर्देशन दिएको छ।
केन्द्रीय बैंकले ऋणीको नाम, बढी व्याज असुल गरिएको रकम, कर्जाको प्रकार, फिर्ता दिन छुट्याएको रकम र फिर्ता गरिसकेको रकमको विवरण उपलब्ध गराउन भनेको छ। हालसम्म १४ वटा वाणिज्य बैंकलाई नियमविपरीत असुल गरेको २ अर्ब १७ करोड ४५ लाख रुपैयाँ फिर्ता गर्न निर्देशन दिइसकेको छ। बढी व्याज असुलेको रकम फिर्ता नगरुन्जेल उनीहरुको साधारसभा समेत राष्ट्र बैंकले स्वीकृत गरेको थिएन।
उनीहरुले बढी उठाएको व्याज रकम फिर्ता गर्न सुरु गरेपछि मात्र साधारणसभाको लागि स्वीकृति दिएको हो। केन्द्रीय बैंकका अनुसार ग्लोवल आइएमई बैंकले ४५ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७० करोड, सिद्धार्थ बैंकले ३० करोड, बैंक अफ काठमाण्डूले २६ करोड रुपैयाँ नियम विपरीत असुल गरेको व्याज फिर्ता दिनुपर्छ ।
त्यस्तै कुमारी बैंकले २१ करोड, प्रभु बैंकले १५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ करोड ५० लाख सिटिजन्स बैंकले १२ करोड, एभरेष्ट बैंकले १२ करोड, मेगा बैंकले ११ करोड, एनएमबी बैंकले १० करोड, सानिमा बैंकले ९ करोड र एनसीसी बैंकले ७ करोड ५० लाख र एसबीआई बैंकले ५ करोड ७५ लाख रुपैयाँ नियम विपरीत असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेको छ ।
राष्ट्र बैंकले गत असोज ११ गते बैंक तथा वित्तीय संस्थालाई नियम विपरीत असुल गरेको ब्याज रकम ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिएको थियो।