सोमबार, भदौ ९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • यसरी बदलिँदैछ एसियाको सबैभन्दा ठूलो सुकुम्बासी बस्ती 'धारावी'को तस्बिर

यसरी बदलिँदैछ एसियाको सबैभन्दा ठूलो सुकुम्बासी बस्ती 'धारावी'को तस्बिर

नेपालमा सुकुम्बासी समस्या पुनः चर्किरहेको समय भारतको राजधानी मुम्बईमा भने एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती व्यवस्थापनको जिम्मा भारतीय खर्बपति व्यापारी गौतम अडानीले पाएका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

नेपालमा सुकुम्बासी समस्यालाई राजनीतिक दलहरुले भोट बैंकका रुपमा चलखेल गर्दा वर्षौंदेखि समाधान हुन सकेको छैन। नदी किनारमा अवैध जग्गा ओगटेर घरटहरा बनाउने र कुनै राजनीतिक दलको ओत लागेका सुकुम्बासीले सरकारी निकायले भत्काउन सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गर्दै आएका छन्। सुकुम्बासीको ट्याग लगाएर बागमती किनारमा घरटहरा बनाई भाडामा लगाउने र कुस्त आम्दानी लिने गैरसुकुम्बासीका कारण समस्या समाधान हुनुको साटो बल्झिँदै गएको छ।

भूमिहीन, दलित र सुकुम्बासी समस्या समाधान गर्न सरकार परिवर्तनपिच्छे आयोग गठन हुँदै आएका छन्। ३० वर्षमा १३ वटा सुकुम्बासी आयोग गठन भए पनि राजनीतिक दल आफू सरकारमा हुँदा चासो नदिने र सरकारबाट हट्नासाथ सुकुम्बासीलाई अगाडि सारेर बखेडा झिक्दा समस्या समाधानले गति लिन सकेको छैन। सरकारी तथ्यांकअनुसार काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न २७ ठाउँमा सुकुम्बासीको बसोबास रहेको छ। ती ठाउँमा ३ हजार ४६६ परिवार अव्यवस्थित रुपमा बस्दै आएको बताइन्छ।

काठमाडौं महानगरले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउने कार्य अगाडि बढाएसँगै फेरि यो मुद्दा चर्किएको हो। अहिले दैनिकजसो प्रदर्शन भइरहेको छ। 

२०६० सालदेखि थापाथलीको बागमती किनार अतिक्रमण गरी उनीहरुले बस्ती बसाल्न थालेका थिए। नेपालमा सुकुम्बासी समस्या पुनः चर्किरहेको समयमा भारतको राजधानी मुम्बईमा भने एसिया क्षेत्रकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती व्यवस्थापनको जिम्मा भारतीय खर्बपति व्यापारी गौतम अडानीले पाएका छन्।  

भारतको आर्थिक राजधानी मानिने मुम्बईको केन्द्रमा ५५० एकड क्षेत्रफलमा अवस्थित धारावीमा रहेको सुकुम्बासीमा ५८ हजारभन्दा बढी सुकुम्बासी घर छन् भने १२ हजारभन्दा बढी व्यावसायिक संघसंस्था। यहाँ औषधी, छालाजन्य सामग्री, जुत्ता र लत्ताकपडा बनाउने स–साना स्तरका कैयौं असंगठित उद्योग पनि छन्। यी उद्योगमा सुकुम्बासीले रोजगारी पाउँदै आएका छन्। 

अडानी समूहले ५ हजार ६९ करोडमा सुकुम्बासी कायाकल्पको जिम्मेवारी लिएको छ। अब अडानी समूहले धारावी बस्तीको तस्बिर परिवर्तन गर्ने भएको छ। यो बस्ती बेलायती उपनिवेशकालमा बसेको हो, जुन अहिले एसियाकै सबैभन्दा ठूलो र विश्वको तेस्रो ठूलो बस्ती बनेको छ।

धारिलो टिनले बनेको छत, प्लास्टर नगरिएका पर्खालहरू। साँघुरा गल्ली र ती गल्लीहरूमा एकअर्कासँग ठोक्किँदै बाहिर निस्केका मानिसहरू। यो धारावीको कथा हो। त्यही धारावी जसलाई मुम्बईको 'हर्ट' र 'छोटा इन्डिया' पनि भनिन्छ। यो बस्ती मुम्बईका अग्ला भवनहरूको बीचमा अवस्थित छ। यदि तपाईं मुम्बईमा हुनुहुन्छ र कम लागतमा आफ्नो टाउकोमा छत चाहनुहुन्छ भने धारावी सबैभन्दा राम्रो गन्तव्य हो। दैनिक ज्यालादारी गर्ने लाखौं  मजदुर र साना व्यवसायीहरू यहाँ बस्छन्।

यहाँ न शिक्षाको स्तर राम्रो छ न सरसफाइ। अब यो धारावी पुनर्जीवित हुन लागेको छ। अडानी इन्फ्राले यो काम गर्नेछ। अडानी इन्फ्राले ५ हजार ६९ करोड भारुको बोली लगाएर यो परियोजना हात पारेको हो। धारावी पुनर्विकासको योजना सन् २००४ देखि चल्दैकोमा बल्ल अहिले टेन्डर स्वीकृत भएको हो।

धारावीमा कति मानिस बस्छन् भन्ने ठ्याक्कै आकडा छैन। यहाँ ६ देखि १० लाख मानिस बस्ने अनुमान छ। धारावीमा ५८ हजार परिवार र करिब १२ हजार व्यावसायिक कम्प्लेक्स छन्।

धारावी करिब ५५० एकडमा अवस्थित छ। यो बस्ती सन् १८८२ मा अंग्रेजहरूले बसाएका थिए। यसलाई स्थापना गर्नुको उद्देश्य मजदुरलाई किफायती ठाउँ दिनु थियो। बिस्तारै यहाँ मानिसहरु बस्न थाले र ठूलो बस्ती बन्न गयो। धारावीको जग्गा सरकारी छ तर यहाँ जनताले आफ्नै खर्चमा घर बनाएका छन्। यहाँ यति धेरै स-साना घरटहरा छन् कि जमिन देख्न मुस्किल पर्छ। ५५० एकडमा फैलिएको धारावीमा एक किलोमिटरको दायराभित्र दुई लाखभन्दा बढी मानिस बस्छन्। यसबाट नै कति धेरै जनसंख्या होला अनुमान गर्न सकिन्छ।

धारावीमा एक सय वर्गफिटको सानो बस्तीमा आठदेखि १० जना मानिस सँगै बस्छन्। कतिपय बस्तीमा कारखानाका साथै घरहरू पनि छन्। करिब ८० प्रतिशत जनताले सार्वजनिक शौचालय प्रयोग गर्छन् यहाँ।

'जिद्दी' मानिसहरुको बस्ती हो धारावी

प्रकाशित: Dec 03, 2022| 12:58 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।