काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन्।
प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले ११४ मतले कांग्रेसका डम्बरबहादुर खड्कालाई, सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले ११२ मतले एमालेका जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका छन्।
मधेस प्रदेशबाट धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादवले १५७ मतले एमालेका उमाशङ्कर अरगरियालाई, धनुषा–४ मा एमालेका रघुवीर महासेठले १२४ मतले कांग्रेसका महेन्द्र यादवलाई, पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले १६७ मतले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई पराजित गरे।
बागमती प्रदेशबाट काठमाडौँ–१ मा कांग्रेसका प्रकाशमान सिंहबाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र पराजित भए। लुम्बिनी प्रदेशबाट दाङ–२ मा नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले १९३ मतले एमालेका शङ्कर पोख्रेललाई, बर्दिया–२ मा स्वतन्त्रबाट लालवीर चौधरीले १३६ मतले नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई पराजित गरे।
कर्णाली प्रदेशबाट दैलेख–२ कांग्रेसका दिक्पालकुमार शाहीले १६७ मतले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरे। समग्रमा पार्टीगत हिसाबले हेर्दा एमालेबाट ४, कांग्रेसबाट ४, माओवादी केन्द्रबाट १, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना दुई सयभन्दा कम मतान्तरले पराजित भए।
प्रतिनिधि सभा प्रत्यक्षतर्फ बाजुरा र स्याङ्जा-२ को गणना जारी छ। बाँकी १६३ स्थानको नतिजा सार्वजनिक भएको छ। हालसम्मको नतिजाअनुसार कांग्रेसले ५५ स्थानमा जित हासिल गर्दा एमाले ४४ क्षेत्रमा विजयी भएको छ। माओवादी केन्द्र र नेकपा एसले क्रमश १७ र १० स्थान जितेका छन्।
जसपा, राप्रपा र रास्वपाले ७-७ स्थान जितेका छन् भने लोसपा, नगारिक उन्मुक्ति, नेमकिपा, जनमत र राजमोले क्रमश ४,३, १, १, १ सिटमा विजयी भएका छन्।