हेटौंडा- मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा केही ठाउँ बाहेक सार्वजनिक भइसकेको छ। चुनावमा विभिन्न दलबाट उम्मेदवारी दिएका महिलाले पुरुष उम्मेदवारलाई पराजित गरेका छन्।
बागमती प्रदेशका १३ जिल्लामध्ये दोलखाको परिणाम आउन बाँकी रहँदा प्रदेश सभाका ६६ सीटमध्ये ५ क्षेत्रमा महिला उम्मेदवार निर्वाचित भएका छन्।
कांग्रसबाट प्रदेश सभामा उम्मेदवारी दिएकी काठमाडौं महानगरकी पूर्वउपमेयर हरिप्रभा खड्गी काठमाडौं ६ (१) बाट ४ हजार ३६१ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका निरेशलाल सिंहले ३ हजार ९३६ मत पाए।
प्रदेशसभामा विजयी हुने महिला उम्मेदवार सत्ता गठबन्धनका रहेका हुन्। सिन्धुपाल्चोक १ (१) मा कांग्रेसकी मसिना खड्का १४ हजार ६६७ मतका साथ विजयी भइन्। उनका प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङ १३ हजार ४६६ मत प्राप्त गरे।
माओवादी नेतृसमेत रहेकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले मकवानपुर २ (१) बाट एमालेका विष्णु ढकालमाथि झिनो अन्तरले जीत हासिल गरिन्। मोक्तानले १९ हजार ९०६ मत ल्याउँदा ढकाल १९ हजार ५८० मतमात्रै प्राप्त गरे।
माओवादी केन्द्रको तर्फबाट बागामती प्रदेशकी पूर्वउपसभामुख राधिका तामाङ पनि नुवाकोट १ (१) बाट निर्वाचित भइन्। उनले एमालेका सुशीलकुमार खड्कालाई भारी मतान्तरले पराजित गर्दै जीत हासिल गरिन्। तामाङले १६ हजार १६९ मत ल्याँउदा खड्काले १३ हजार ३५० मत पाए।
नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर काठमाडौं १० (२) बाट ५ हजार ८१८ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी एमालेका रामशरण आलेमगरले ५ हजार १८८ मतमात्रै पाए।