काठमाडौं- देशका विभिन्न स्थानमा तीन महिला र तीन पुरुष गरी ६ जनाको शव फेला परेको छ।
लमजुङ, दोर्दी गाउँपालिका-६ बस्ने २७ वर्षीय विर्ख बहादुर तामाङ सोही ठाउँस्थित दोर्दी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्।
मंसिर १० गतेदेखि घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो।
बैतडी, पञ्चेश्वर गाउँपालिका-४ सैलोडा बस्ने २१ वर्षीया माँया लुहार शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा बुधबार मृत अवस्थामा फेला परेकी छिन्। पञ्चेश्वर गाउँपालिका-३ कुलाउमा मंगलबार बिहान लुगा सिलाउन गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा घाँटी रेटिएको अवस्थामा उनको शव फेला परेको हो।
उनीसँगै गएकी १५ वर्षीया किशोरी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित वालाडाँगामा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेको र उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्नको खोजी गरिरहेको छ।
बझाङ, बुङगल नगरपालिका-८ दशपाला बस्ने अन्दाजी ५० वर्षीय मान सिंह बोहरा सोही ठाउँस्थित घट्टेखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरी, ईटहरी उपमहनगरपालिका-२० तरहरा डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१९ घर भएका ५२ वर्षीय योगेन्द्र घले गुरुङ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन्।
रामेछाप, मन्थली नगरपालिका-६ सेलेघाटस्थित सुनकोशी नदी किनारामा सोही नगरपालिका-१ बस्ने २९ वर्षीया दुर्गा कार्की बुढाथोकी बुधबार मृत अवस्थामा फेला परेकी छिन्।
पाल्पा, रिब्दीकोट गाउँपालिका-१ सातमुरेस्थित रिडी खोलामा सोही गाउँपालिका जोगीथुम बस्ने ४९ वर्षीया तिला कुमारी कुमाल बुधबार मृत अवस्थामा फेला परेकी छिन्। सबै घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।