बिहीबार, असार २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी : अर्थमन्त्री शर्मा

अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी : अर्थमन्त्री शर्मा

अर्थतन्त्र संकटमा नभए पनि केही चुनौती विद्यमान रहेकाले त्यसका लागि निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको अर्थमन्त्री शर्माको तर्क।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शर्माले अर्थतन्त्रमा संकट नभएको बरु केही चुनौती बाँकी रहेको बताएका हुन्। 

उनले भने, ‘अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो। यद्यपि केही चुनौती छन्। त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ।’

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको दाबी गरे। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको धारणा छ। 

‘हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकै पटक संकटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन। जे–जति चुनौती छन्, त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ,’ अर्थमन्त्री शर्माले भने। मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न उनले सुझाए। नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेकाले अब क्षमता वृद्धिमा ध्यान दिइनुपर्ने उनको धारणा छ।

प्रकाशित: Dec 01, 2022| 12:45 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्