धनगढी- धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका ५ स्थित हसनपुर पिपल चौतारा सडक खण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना१क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेबल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो। ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडर प्रहरीले नियन्त्रणमा लिएको छ।