बाजुरा- निर्वाचन आयोगले निर्देशन दिएसँगै बुधबार स्याङ्जा २ मा मतगणना सुरु भएको छ। बाजुराको मतगणना भने अझै सुरु हुन सकेको छैन।
बुधबारको सर्वदलीय बैठकमा एमाले प्रतिनिधि उपस्थित नभएपछि मतगणना कहिलेबाट सुरु गर्ने भन्ने विषय टुंगोमा पुग्न नसकेको हो।
आयोगले बुधबार दुवै जिल्लामा मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। त्यसपछि स्याङ्जा २ मा मतदानको ११औं दिन बुधबार बेलुकीदेखि गणना थालिएको हो।
मंसिर ४ गते मतपेटिका ल्याएर वालिङ नगरपालिकाको मतगणनास्थलमा राखेपछि धाँधलीको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेको थियो। एमाले नेता कार्यकर्ता १०औं दिनसम्म प्रदर्शनमा उत्रिएका थिए।
बाजुरामा कांग्रेस र एमालेबीच एकार्काले बुथ कब्जा गरेको आरोपप्रत्यारोप चलेको छ। मतदानस्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा दुई जनाले ज्यान गुमाएका थिए।
प्रहरीको गोली लागेर कांग्रेस कार्यकर्ता संजीव एडीको ज्यान गएको थियो। त्यसपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्वयुका केन्द्रीय सदस्य चेतन एडीको थियो।
निर्वाचनमा धाँधली भएको, स्वतन्त्र मतदान गर्न नपाएको र १६ वटा बुथ कब्जा गरी कांग्रेसले धाँधली गरेको भन्दै एमालेले उजुरी दिएको थियो। एमालेले ८ बुथ कब्जा गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो। उक्त उजुरीमाथि छानबिन गर्न आयोगको टोली बाजुरा पुगेकोमा टोलीको प्रतिवेदनका आधारमा बुधबार मतगणना गर्न आयोगले निर्देशन दिएको हो।
त्यससँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलीय बैठक बोलाएको थियो। तर, एमाले प्रतिनिधि उपस्थित नभएपछि बैठक बिनानिश्कर्ष टुंगिएको छ। बिहीबार बिहान ७ बजे बस्ने गरी बैठक स्थगित भएको एकीकृत समाजवादीका नेता पुर रावतले बताए।