काठमाडौं- प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा खटिएका म्यादी प्रहरीलाई गाली गरेको भिडियो बनाएर युट्युबमा पोस्ट गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हुप्रोचौर बस्ने २० वर्षीय प्रतिक भन्ने नवीन खड्का छन्। उनी मंगलबार पक्राउ परेका हुन्।
म्यादी प्रहरीलाई विभिन्न आक्षेप तथा लान्छना लगाई समाजमा अपाच्य हुने शब्दको प्रयोग गरी नकारात्मक सन्देश प्रवाह गरी सुरक्षाकर्मीको चरित्रमा समेत दाग लगाउने खालको भिडियो सामग्री प्रसारण गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिएर उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जानकारी दिएको छ।