काठमाडौं– खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंमा आगामी १७ मंसिरसम्म मेलम्चीको पानी वितरण गरिने बताएका छन्। बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले उक्त कुरा बताएका हुन्।
गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ। पानी सुरुङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौं पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।
मेलम्ची खानेपानीको हेडबक्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दिर्घकालीन रुपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिए। उनले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने बताए। सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको सुनाए। थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकामा उनले खुसी व्यक्त गरे।
निरीक्षणका क्रममा खानेपानी सचिव मणिराम गेलालले योजनाअनुसार नै काम भइरहेकाले समयमै अर्थात् २७ मंसिरभित्रै मेलम्चीको पानी वितरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। माथिको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमै समस्या समाधान गरिने जनाउँदै त्यसका लागि काम सुरु भइरहेको उनको भनाइ छ।
अहिलेसम्म सुरुङ निर्माण र अन्य संरचना निर्माण गरेर ३४ अर्ब खर्च गरेको सरकारले अब करिब ३१ करोड खर्च गर्ने हो भने बाह्रै महिना पानी लैजान सकिने सचिव गेलालले दाबी गरे।
आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले स्थानीयको समस्या समाधान गरेर पानी लैजाने विषयमा आयोजना सकारात्मक रहेको बताए। उनले हेलम्बु गाउँपालिकालगायत स्थानीय तहले राखेका माग र यहाँका समस्या समाधानका लागि आयोजनाले काम गरिरहेको जानकारी दिए।
निर्देशक श्रेष्ठले बाढीले क्षति पुगेका संरचना पुनःनिर्माण, सडक स्तरोन्नतिलगायतका समस्या समाधान गर्न स्थानीय प्रभावित र सरोकारवालासँग निरन्तर छलफल र परामर्श भइरहेको बताए।–रासस