काठमाडौं- देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।
झापा, मेचिनगर नगरपालिका-१३ चारआली चोकमा प्र.१-०१-००१ ख ३८४८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१२ बस्ने ७० वर्षीय जगतमान सावाको मंगलबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुर, बकैया गाउँपालिका-३ हात्तिसुडेस्थित सडकमा हात्तिसुडेबाट श्रीपुरतर्फ जाँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ श्रीपुर बस्ने ३० वर्षीय श्याम लामाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री पथरीशनिश्चरे नगरपालिका-१० जिरी खम्ती बस्ने ४० वर्षीय युवराज खत्रीको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्करमा संलग्न हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
पर्सा, सखुवा प्रसौनी गाउँपालिका-५ टाली चोकमा रामनगरीबाट महुवनतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने ४५ वर्षीय तपसी साह कानुको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टरलाई नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।
बारा, परवानीपुर गाउँपालिका-३ स्थित सडकमा गण्डकबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २-०३-००४ प.८५९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ बहुअरी बस्ने २८ वर्षीय ममुराम पटेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एस.एल.न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।