रौतहट- रौतहटको पश्चिम भेग फतुवा विजयपुर नगरपालिका स्थित दुई बिगाहा क्षेत्रफलको खेतमा फलेको धानमा अज्ञात समूहले लगाएको आगोबाट जलेर नष्ट भएको छ।
अवकाश प्राप्त सई रामानन्द यादवको खेतको धान काटेर दाइँ गर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको धानको भारिमा गएराति अज्ञात समूहले आगजनी गरेको हो।
आगजनीबाट धान पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनामा १ लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताए।
घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा कसैले राजनीतिक पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पूर्वसई यादवले गुनासो गरे। दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग रहेको छ।