काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफूलाई कर्मचारीले 'अन्डरस्टिमेट' (अवमूल्यन) गरेको भन्दै प्रश्न उठाएकी छन्। इजिप्टमा भएको कोप-२७ मा नेपालको भूमिका र उपलब्धिको समीक्षाका लागि सोमबार सिंहदरवार नजिकैको होटल बसेरामा बोलाइएको बैठकमा उनले यस्तो गुनासो गर्दै कार्यक्रम बहिष्कार समेत गरेकी हुन्।
वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख रहेका जलवायु फोकल पर्सन बुद्धिसागर पौडेललेले प्रस्तुत गरेको कोप-२७ को समीक्षा प्रतिवेदनमा उनले आफ्नो असन्तुष्टि राखेकी हुन्। कोप-२७ मा मन्त्रालयबाट सहभागी सचिव कँडेल, सरकारका अन्य सचिवहरु, सहसचिवहरु, वन मन्त्रालयका उपसचिवलगायत केही विज्ञका भूमिकाबारे उल्लेख गरेपनि आफ्नो भूमिकालाई स्थान नदिइएको उनको गुनासो थियो।
‘कोपमा मैले खेलेको भूमिका किन प्रस्तुतिमा समेटिएन? के मेरो कुनै भूमिका थिएन कोपमा? कि मलाई हेपेको? सबैतिर कर्मचारीतन्त्र हाबी हुने? उनले थुप्रै प्रश्न गरिन्, ‘प्रधानमन्त्रीज्यूले मलाई कुनै काम नभएर पठाउनुभएको हो?’
कोप सम्मेलनका क्रममा आफूले विषयवस्तुसँग सम्बन्धित भएर गरेका समकक्षी भेट, छलफल र अन्य सम्बोधनलाई कुनै उपलब्धि नभनिएकामा मन्त्रीको गुनासो छ। ‘तपाईंहरुले जानाजान अवमूल्यन (अन्डर स्टीमेट) गर्नुभयो। महिला भनेर हेप्नु भएको त होइन? यस्तो कार्यक्रममा म बस्दिनँ। यो कार्यक्रमको भर्त्सना गर्छु।’ यति भनेपछि प्रमुख अतिथिसमेत रहेकी उनले समीक्षा बैठकसमेत बहिष्कार गरिन्।
मन्त्रालयका अधिकारीले गल्ती भएको भन्दै मन्त्रीलाई रोक्न खोजेका थिए। मन्त्री रेग्मी भने आफ्ना गुनासा पोखेर कार्यक्रमबाट बाहिरिइन्। सचिव कँडेल र महाशाखा प्रमुख पौडेलले उनलाई रोक्न सकेनन्।
मन्त्री रेग्मीकै नेतृत्वमा नेपाली टोलीले कात्तिक २० गतेदेखि मंसिर २ गतेसम्म इजिप्टको शर्म अल शेखमा भएको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२७) मा भाग लिएको थियो। मन्त्रालयकै पहलमा केही साइड इभेन्ट र दक्षिण एसियाली मन्त्रीहरुको बैठकलगायतमा मन्त्रीले सम्बोधन गरेकी थिइन्। केवल कर्मचारीको गुणगान गाएको आफूलाई आभास भएको मन्त्री रेग्मीले बताएकी थिइन्।
समीक्षा बैठकको आयोजक वन तथा वातावरण मन्त्रालय हो।