काठमाडौं- प्रतिनिधि सभा सदस्यमा उदयपुर-१ बाट कांग्रेस उम्मेदवार डा नारायण खड्काको जित निश्चित भएको छ।
परराष्ट्र मन्त्रीसमेत रहेका डा खड्का र निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरीबीचको मतान्तर गन्न बाँकी मत भन्दा कम भएपछि डा खड्काको जित निश्चित भएको हो।
उदयपुर-१ मा पर्ने क्षेत्रमा खसेको कुल मतमध्ये २ हजार मत गन्न बाँकी छ। डा खडकाभन्दा चौधरी २ हजार १५० मतले पछि छन्।
हालसम्मको गणनामा डा खड्काले ३० हजार ४६ मत ल्याउँदा चौधरीले २७ हजार ८९६ मत पाएकी छन्।
मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रको मतगणना जारी छ। तीनमध्ये एकमा एमाले र दुई वटा (खड्कासहित)मा कांग्रेसका उम्मेदवार अघि छन्। स्याङ्जा-२, दोलखा र बाजुरामा मतगणना सुरु भएकै छैन। बाँकी १५९ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधि सभा र प्रदेशसभामा समानुपातिक तर्फको गणना जारी छ।
प्रदेश सभामा भने प्रत्यक्षतर्फ सुनसरी-३ 'ख'को मात्र गणना जारी छ। यहाँ एमालेका उम्मेदवार रामदेव यादवले अग्रता लिएका छन्। बाँकी ३१९ प्रदेश सभा क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ।