खोटाङ- ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ। दिक्तेल हाटडाँडादखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर अलपत्र पारेको भन्दै लगलगे कन्ट्रक्सनका ती उपकरण नगरपालिकाले मंगलबार नियन्त्रणमा लिएको हो।
असार मसान्तसम्म सक्ने गरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग २०७८ माघ २० गते सम्झौता गरेको कम्पनीले सोही वर्षको पुसमा काम सक्ने गरी म्याद थप लिए पनि अझसम्म काम पूरा गरेको छैन।
काम नगरी भाग्ने यत्न गरेपछि ठेकेदारका उपकरणलाई नगरले नियन्त्रण गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ वडाअध्यक्ष दिनेश घिमिरेले जानकारी दिए। ‘सम्बन्धित निर्माण कम्पनी आएर काम सक्ने वातावरण नबनाइन्जेलसम्म नियन्त्रणमै राख्छौँ,’ उनले भने।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रभित्रका विभिन्न योजनाको ठेक्का लिएर अलपत्र पारिएकाको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयहरूले पनि नगरपालिकासँग आक्रोश पोख्दै आएका छन्।