काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन्।
थापाथलीको सुकुम्बासी बस्तीका घर टहरा भत्काउने क्रममा झडप हुँदा घाइते भई उपचार गराइरहेका महानगरका प्रहरीहरूको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टाछुट्टै समयमा नर्भिक पुगेका हुन्।
सुरुमा साँझ करिब ७ः ४० बजेतिर पुगेका बालेन्द्र शाहले त्यहाँ उपचाररत घाइतेहरूको अवस्थाको विषयमा चिकित्सकसँग ब्रिफिङ लिएका थिए। सो क्रममा नर्भिक अस्पतालका इमर्जेन्सी इन्चार्ज तथा डेपुटी मेडिकल डाइरेक्टर डा.ओमर प्रधानले घाइतेमध्ये ३ जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जरभेसनमा राखिएको बताएका थिए।
नर्भिकले ३४ जना घाइतेहरूको छोटो अवधिमै उपचार व्यवस्थापन कसरी मिलाउनुभयो भनेर बालेनले डा. प्रधानसँग चासो राखेका थिए। उनले नर्भिकको इमेरजेन्सीको मूल विशेषता भनेकै आकस्मिक अवस्थामा घाइते तथा बिरामीहरूको सही व्यवस्थापन गर्ने रहेको, घाइतेहरूको अवस्थाको आधारमा रेड, ग्रीन र एल्लो जोनमा उनीहरूलाई राखेर सोहीअनुसारको उपचार प्राथमिकतामा आधारमा दिइने गरिएको र आज पनि त्यसै गरिएका कारण ३ घण्टाको अवधिमा ३४ जनामध्ये ३१ घाइतेलाई उपचार गरी घर फर्काउन सम्भव भएको बताएका थिए।
मेयर शाहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना ३ नगर प्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए। करिब ३ मिनेट जति अस्पताल बसेर मेयर शाह फर्किएका थिए। उनी फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी थिइन्।
उनले पनि नगर प्रहरीको स्वास्थ्य अवस्थाको विषयमा बुझेकी थिइन्। सो क्रममा उनले नर्भिकको उपचार पद्धति तथा आकस्मिक अवस्थामा गरेको कुशल व्यवस्थापनको खुलेरै प्रशंसा गरेकी थिइन्। उनले सो क्रममा नर्भिकको टिमलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।