काठमाडौं– सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया रोजगारीमा जान रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत भाषा परीक्षाको आवेदन माग गरिएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुपालनका लागि ६ हजार कामदारको माग आएकाले ४ देखि ८ पुससम्म आवेदन माग गरेको हो।
ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो १६ देखि २७ माघसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा ८ देखि २६ फागुनसम्म हुनेछ। सबै परीक्षा काठमाडौंमै सञ्चालन हुनेछन्। एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले बताएको छ।
भाषा परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको पहिलो चरणको सीप परीक्षण ३ देखि ५ फागुनसम्म हुनेछ भने दोस्रो चरणको सीप परीक्षण १ देखि ३ चैतसम्म हुने ईपीएस शाखाले जनाएको छ।
भाषा परीक्षामा प्राप्त गरेको अंकका आधारमा अधिकतम अंक प्राप्त गर्नेमध्ये रोस्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी उत्तीर्ण भएका करिब ६ हजारको अन्तिम नतिजा प्रकाशित गरिनेछ। भाषा र सीप परीक्षण दुवैमा उत्तीर्ण भएकाले मात्रै कोरियाको रोजगार आवेदन फाराम भर्न पाउनेछन्। तर कोरियाको मागका आधारमा उत्तीर्णको संख्यामा थपघट हुन सक्नेछ।