काठमाडौं– निर्वाचन आयोगले स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रबारे निर्णयमा ढिलाइ गर्दा मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको छ। आयोगले १२ मंसिरभित्र निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिने बताएको थियो।
आयोगका अनुसार मंगलबारसम्म १५४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। ८ निर्वाचन क्षेत्रको गणना हुँदै छ। दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्न आयोगले निर्देशन दिएको छ।
तर स्याङ्जा र बाजुराको विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने वा यथास्थितिमै गणना गर्ने भन्नेबारे आयोगले निर्णय गर्न ढिलाइ गर्दा मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका प्रभावित भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विवादित दुई जिल्लाको निर्णयसमेत छिट्टै आउने बताए।
आयोगले ७ मंसिरभित्र प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने)तर्फका सबै र १२ मंसिरभित्र समानुपातिकतर्फका सबै निर्वाचन क्षेत्रको गणना गर्ने आन्तरिक कार्यतालिका बनाएको थियो। यस्तै, २० मंसिरभित्र मत परिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने कार्यक्रम तय थियो।
सोमबार बेलुकीसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ ९३ लाख ८४ हजार ४०३ मत गणना भइसकेको छ। १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकोमा करिब ६० प्रतिशत मतदान हुँदा समानुपातिकतर्फ करिब १ करोड ७ लाख ९३ हजार मतदान भएको छ। देशभरि समानुपातिकतर्फको करिब १५ लाख मतगणना गर्न बाँकी हुनुपर्नेमा विवादित तीन जिल्लाको तीन निर्वाचन क्षेत्रको गणना प्रभावित भएको छ।