मंगलबार, भदौ १०, २०८२

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं– आमनिर्वाचन सम्पन्न भएसँगै नेपथ्य ब्यान्ड देशव्यापी सांगीतिक यात्राका लागि देश दौडाहामा निस्किँदै छ। देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

‘आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वाभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ,’ एक महिना लामो सांगीतिक देश दौडाहामा निस्कनुअघि नेपथ्य ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ लख काट्छन्, ‘अब फेरि सिंगो समाज एउटै सूत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ।’

अमृतका अनुसार मुलुक सशस्त्र द्वन्द्वमा फसेका बेला नेपथ्य ब्यान्डले ‘सुन्दर शान्त नेपाल’ र ‘शान्तिका लागि शिक्षा’ जस्ता अभियान चलाएको थियो। त्यस अभियानले भयावह स्थितिमा पनि समाजलाई जोड्न मद्दत गर्छ भन्ने अनुभव उनलाई दिएको थियो। ‘अघिल्ला दिन हामीले जताततै पार्टीका झन्डा देख्यौं,’ अमृत थप्छन्, ‘यो साताबाट सुरु हुने नेपालभरको सांगीतिक यात्रामा सबै दर्शक   चन्द्र सूर्यको झन्डा बोक्दै नाचेको हेर्न म आतुर छु।’

ब्यान्डको पहिलो प्रस्तुति १६ मंसिरमा विराटनगरमा हुनेछ। त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि १६ पुसमा भृकुटीमण्डपमा  सांगीतिक प्रस्तुत पस्किएर अभियानको बिट मार्नेछ। यसपाला नेपथ्यले देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन, मानवताको प्रवद्र्धनका लागि आफूलाई मञ्चमा उभ्याउने अठोट बोकेको छ। नेपथ्यले सडक आश्रित असहायका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोगसमेत जुटाउनेछ।

आफ्ना गीतलाई ‘मानवता प्रवद्र्धन अभियान’ सँग जोड्न नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ। घरपरिवार वा समाजबाट अपहेलित भएका मानिसको सेवामा समर्पित मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ। यो संस्थाले तीन वर्ष भित्रमा सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ।

‘नेपथ्यको कन्सर्टलाई सफल तुल्याउन ७७ वटै जिल्लामा रहेका हाम्रा स्वयंसेवी परिचालित गरिनुका साथै देशभरि नै टिकट बिक्री खुला भइसकेका छन्,’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘प्रचार–प्रसारका विभिन्न माध्यम प्रयोग गर्नेदेखि लिएर अनलाइनबाटै टिकट काट्न सकिनेसम्मका प्रबन्ध मिलाइसकेका छौं।’

यो चुनाव सकिएपछिको समय मात्र होइन, खेती किसानी गर्ने देशभरिका कृषक धान काटेपछिको फुर्सदमा रमाउन खोज्ने क्षण पनि हो। नेपथ्यका मुख्य गायक अमृत यतिबेला कास्कीस्थित धानको दाइँ सिध्याएर कन्सर्टका निम्ति आफूलाई तयार पारिरहेका छन् ।

१६ मंसिरमा विराटनगरको हाटखोला मैदानमा पहिलो कन्सर्ट आयोजना हुनेछ। उक्त कन्सर्टका लागि नेपालको धरान र दमक मात्र नभई भारतका इच्छुक दर्शकको टेलिफोन आउन थालिसकेको छ। मानव सेवा आश्रम विराटनगरकी संयोजक पार्वती तिवारीका अनुसार आसामबाट पनि दर्शकले टिकट माग गरिसकेका छन् भने सीमापारिका अन्य दर्शकको पनि सन्देश प्राप्त भइरहेको छ। पूर्वी नेपालको केन्द्र विराटनगरबाट सुरु हुने यात्रा क्रमशः १९ मंसिरमा वीरगन्जको आदर्शनगर रंगशाला, २२ मा हेटौंडाको भुटनदेवी स्कुल मैदान, २५ मा नारायणगढको क्याम्पाचौर हुँदै मंसिरको अन्तिम शो २९ मा नेपालगन्ज रंगशालामा पुग्नेछ। 

ब्यान्डले ३ पुसमा धनगढी रंगशालामा सांगीतिक प्रस्तुत पस्किइनेछ। त्यसपछि वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा ६ पुस, ९ पुसमा बुटवलको रामनगर खेलमैदानमा प्रस्तुति दिनेछ। नेपथ्य ब्यान्डले १२ पुसमा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सांगीतिक प्रस्तुति दिनेछ।

मुलुकका सबै प्रदेश घुमिसकेपछि अन्तिममा ब्यान्ड संघीय राजधानी काठमाडौं आइपुग्ने योजना छ। नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्ने भएको छ। ‘चुनाव र खेतीपातीको चटारोले थाकेका मानिसलाई रमाइलो संसारमा लैजान हामीले सकेसम्म भव्य र व्यवस्थित मनोरञ्जनको प्रवन्ध मिलाएका छौं,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्।

प्रकाशित: Nov 29, 2022| 12:05 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।