काठमाडौं– नेकपा एमालेले देशका थप २० स्थानमा बुथ कब्जा भएको दाबीसहित पुनः मतदानका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले सोमबार निर्वाचन आयोगमा पत्र पठाउँदै देशका थप २० मतदान केन्द्रमा बुथ कब्जा भएकाले पुनः मतदान गर्न माग गरेका हुन्।
यसअघि आयोगले दोलखाका १० स्थानमा पुनः मतदान गर्ने निर्णय गरेबाहेक थप २० ठाउँमा सत्ता गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको दाबी छ। ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समय ४ मंसिरमा बाजुरा, स्याङ्जा र दोलखामा बुथ कब्जा भएकोबारे सोही दिन एमाले उम्मेदवारले निर्वाचन अधिकृत तथा निर्वाचन आयोगसमक्ष पुनः मतदानका लागि निवेदन दिएका थिए’, एमालेले भनेको छ, ‘आयोगबाट समेत प्रारम्भिक रुपमा निवेदनमा उल्लिखित स्थानमा बुथ कब्जा र अनियमितता भएको भन्ने प्रारम्भिक तथ्यबाट देखिएको हुँदा आयोगबाट कर्मचारी खटाई स्थलगत प्रतिवेदन प्राप्त गर्ने क्रममा रहेको स्पष्ट देखिन्छ।’
एमालेले आयोगबाट दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश गरेको जनाउँदै अन्य स्थानमा पनि सोहीअनुसार निर्णय हुनुपर्ने माग गरेको छ। ‘हाम्रा उम्मेदवारले माग गरेको बुथ कब्जा भएका अन्य स्थान कालिञ्चोक १ नं. बेगुम्पा मतदान केन्द्र क र ख, शैलुङ गाउँपालिका वडा–२ भुसाफेदा नविन मावि मतदान केन्द्रमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्दछ।’
एमालेले कालिञ्चोक १ नं. बेगुम्पा मतदान केन्द्र क र ख, दोलखा, शैलुङ गाउँपालिका–२ भुसाफेदा नवीन मावि मतदान केन्द्र, दोलखा, चापाकोट नगरपालिका वडा–३ दिसिङकोट आधारभूत मावि कमेरे, स्याङ्जा, चापाकोट नगरपालिका वडा–४ को राममन्दिर मावि दार्सिङ नरसेवामा बुथ कब्जा भएको दाबी गरेको छ।
यस्तै, चापाकोट नगरपालिका वडा–५ जनसक्रिय आधारभुत विद्यालय चिठ्ठीपोखरी, चापाकोट नगरपालिका वडा–५ दिनदयालु आधारभूत विद्यालय साटीमुरेका सबै मतदान केन्द्र, स्याङ्जा, बाजुराको त्रिवेणी नगरपालिका वडा–२ को त्रिभुवनेश्वरी मावि मतदान केन्द्र, बाजुराको त्रिवेणी नगरपालिका वडा–३ को मष्टेश्वरी आधारभूत विद्यालय, बाजुराकै त्रिवेणी नगरपालिका वडा–७ को नाटेश्वरी आधारभूत विद्यालय, बाजुराको त्रिवेणी नगरपालिका वडा– ८ को नवदुर्गा आधारभूत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा–२ को मालिका मावि मतदान केन्द्र, खप्तडछेडा गाउँपालिका वडा–४ को खापरदेवस्थली मावि, बूढीगंगा नगरपालिका वडा–७ शारदा मावि मतदान केन्द्र, बूढीगंगा नगरपालिका वडा–४ थमा मावि मतदान केन्द्रमा पनि सत्तारुढ दलबाट बुथ कब्जा भएको एमालेले आयोगलाई जानकारी गराएको छ।
यसैगरी बूढीगंगा नगरपालिका वडा–८ को गिरिखेल्ने आधारभूत विद्यालय मतदान केन्द्र, बूढीनन्दा नगरपालिका वडा–५ को नन्देश्वरी मतदान केन्द्र, बूढीनन्दा नगरपालिका वडा–७ को घटाल आधारभूत विद्यालय, बूढीनन्दा नगरपालिका वडा–९ को हिमाली आधारभूत विद्यालय, हिमाली गाउँपालिका वडा–५ को बागेश्वरी आधारभूत विद्यालय, हिमाली गाउँपालिका वडा–६ को बढीमालिका मावि मतदान केन्द्रमा पनि बुथ कब्जा भएको एमालेले दाबी गरेको छ।