जाजरकोट- मंसिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो। उनको घरबाट झण्डै ३ घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन। यसपछि १४ हजार रुपैयाँ जिप भाडामा लिएर सदरमुकाम ल्याएर उपचार सुरू भयो।
उपचारलगत्तै छोरीको जन्म दिएकी उनीलाई तत्काल ‘बी’ पोजेटिभ रगतको आवश्यकता परेको जनाउँदै स्वास्थ्यकर्मीले विष्णु खत्रीलाई अह्राए। जिल्लामै ‘ब्लड बैंक’ नभएका कारण खत्रीले तत्काल जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय हुँदै नेपाली सेनासम्म रगत चाहिएको सम्पर्क गरे।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तत्काल प्रहरी जवान महेन्द्र थापालाई रक्तदान गर्न अस्पताल पठाए। डोल्पा अस्पतालमा गत शनिबार रुकुमपश्चिम आठबीसकोट नगरपालिका–४ की कमला विकको पाठेघरभन्दा बाहिर नलीमा नवजात शिशु बसेका कारण समस्या आयो। सो समस्या आएपछि उनी डोल्पा अस्पताल पुगेकी थिइन्।
जटिल खालको एक्सप्लोरेट्री ल्यापारोटामी शल्यक्रिया जिल्ला अस्पतालमै भयो।
शल्यक्रियाका लागि रगतको आवश्यकता पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट विकको ज्यान बच्यो। यी त प्रतिनिधिमूलक घटना मात्र हुन्।
जाजरकोट अस्पताल र डोल्पाको जिल्ला अस्पतालमा मासिक ७ भन्दा बढी रगत दिनुपर्ने बिरामी आउँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी आफैंले रगत दिएर ज्यान बचाउने गरेको डोल्पा अस्पतालमा डा. अखण्ड उपाध्यायले बताए।
यातायातको सहज पहुँच नभएको डोल्पामा सबैभन्दा बढी समस्या आउने गरेको छ। जाजरकोट सदरमुकाममा समेत रगत व्यवस्थापन नहुञ्जेलसम्म दैनिक रगतकै समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले जानकारी दिए। -रासस