काठमाडौं– निर्वाचन आयोगले उदयपुर १ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ। आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गर्दै रोकिएको मतगणना पुनः सुरु गर्न निर्देशन दिएका हुन्।
यो क्षेत्रमा आइतबारदेखि मतगणना स्थगित भएको थियो। आयोगको निर्देशनपछि सर्वदलीय बैठक गरेर मतगणना पुनः सुरु गरिनेछ।प्रतिनिधिसभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको थियो।
यो क्षेत्रमा ६३ हजार ८० मत गणना भइसकेको छ। कांग्रेसका उम्मेदवार नारायण खड्का १ हजार ८ सय २५ मतान्तरले अघि छन्। एमाले उम्मेदवार मन्जुकुमारी चौधरीले उनलाई पछ्याइरहेकी छन्। यो क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। खड्काले अहिलेसम्म २७ हजार ४८४ र चौधरीले २५ हजार ६५९ मत ल्याएका छन्।