गुल्मी– गुल्मीमा यस वर्ष धान उत्पादनमा कमी आएको छ। गत वर्ष २७ हजार ८०७ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार ७ १८ मेट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले बताएको हो।
सुरुमा खडेरी परेको र फूल खेल्ने बेला पानी तथा हावा लागेकाले उत्पादनमा असर परेको हो। बाली भित्र्याउने बेला पानी परेर धान झरेकाले पनि उत्पादन घटेको केन्द्र प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले बताए। गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनको भनाइ छ।
जिल्लामा चैते धान ३४१ हेक्टर र बर्खे धान ८ हजार ६७० हेक्टरमा गरी कुल ९ हजार ११ हेक्टर क्षेत्रफलमा धान लगाइँदै आएको छ। ग्त वर्ष चैते र बर्खे गरी २७ हजार ८०७ मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष उत्पादन घटेर २३ हजार ७१८ मेट्रिक टनमा झरेको छ।
जिल्लामा सबैभन्दा बढी धान खेती हुने फाँटमा इस्माको चौरासी, सत्यवतीको जोहा, कालीगण्डकीका अर्बेनी, कनौटा, छापचौर, सत्यवतीका जुहाङ खैरेनी, अस्लेवा र चन्द्रकोट गाउँपालिकाका मजुवा, रुपाकोटलगायत स्थान रहेका छन्।
त्यसैगरी मुसिकोट नगरपालिकाका तल्लाफाँट, इन्द्रेगौडा, बडीघाट खोला आसपासका क्षेत्र, मालिका गाउँपालिकाका सिमलटारी, फूलबारी, मदाने गाउँपालिकाको सिर्सेनी, धुर्कोट गाउँपालिकाको पनाहाखोला र छल्दी खोलाका फाँट, गुल्मी दरबारको गरमटारी, खज्र्याङ र घोडाहा फाँट, छत्रकोटको खज्र्याङ, मनबाग, उल्लीखोला, टाहाटिमलगायत स्थानमा धेरै मात्रामा धान उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी युवराज ढकालले जानकारी दिए।
मसिना बास्नादार चामलप्रति बढ्दो आकर्षण, आयातित चामलको गुणस्तर एवं मूल्यमा स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ। गुल्मीमा गत वर्ष ५ करोड बराबरको चामल आयात भएको थियो। जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोदे, बडियारे, थापचिनी, गुडुरो, रातो मार्सी र मार्सी जातको धान उत्पादन हुँदै आएको छ।–रासस