काठमाडौं- मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म ८० प्रतिशतभन्दा मतगणना सम्पन्न भएको छ। कुल मतदाता १ करोड ७९ लाख ८ हजार ८५० रहेकामा ६१ प्रतिशत मत खसेको अनुमान गरिएको र उक्त मतको ८० प्रतिशत मतगणना सम्पन्न भएको निर्वाचन आयोगको भनाइ छ। अब करिब २४ लाख मत प्रतिनिधि सभा समानुपातिकतर्फको गणना हुन बाँकी छ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म १४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। हाल गणना भइरहेका ६ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आकलन गरिएको छ।
बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा मङ्सिर १० गते पुनः मतदान सम्पन्न भएपनि मतगणना सुरु हुन बाँकी छ। दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि पुनः मतदान गराउने या मतगणना सुरू गर्ने भन्ने विषयमा आयोगको निर्णयको प्रतीक्षा गरिएको छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म ८८ लाख १० हजार १४२ मत गणना भएको छ। हालसम्म एमालेले २४ लाख २३ हजार ३३५ मत प्राप्त गरी पहिलो दल बनेको छ। दोस्रो स्थानको कांग्रेसले २३ लाख ३ हजार ६५७ मत पाउँदा माओवादी केन्द्रले १० लाख ८ हजार १ सय मत पाएर तेस्रो स्थानमा छ।
पहिलो पटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८८ हजार ९६६ मत पाउँदा राप्रपाले ५ लाख १६ हजार ६८७ मत पाएको छ। जसपाले ३ लाख २ हजार २५१ मत पाएको छ भने नेकपा एसले २ लाख ३७ हजार ४९ मत पाएको छ भने पहिलो पटक चुनाव लडेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले क्रमशः २ लाख ३५ हजार १४४ र २ लाख २ हजार १०८ मत पाएका छन्।
कुन दलले पाए कति मत? सूचीमा हेर्नुहोस्?