उदयपुर- उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ। गणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (ख) प्रदेशसभाको एक सय मतपत्र भेटिएकाले गणना रोकिएको हो ।
६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० बक्स खोलिएकोमा प्रदेश सभा ख को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन्। साढे १० बजे सर्वदलीय बैठक बस्ने गरी हाललाई गणना रोकिएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए।
७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ। गणना भइसकेकोमा कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन्। खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।