काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता गठबन्धन बहुमत नजिक पुगेको छ। प्रत्यक्षमा ५० प्रतिशतभन्दा बढी सिटमा जित हासिल गरेसँगै गठबन्धनको बहुमत निश्चित भएको हो।
अहिलेसम्म प्राप्त मत परिणामअनुसार नेपाली कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा पहिलो दल बन्ने देखिएको छ। अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले प्रत्यक्षतपर्फ ५३ स्थानमा जित हासिल गरेको छ। तीन स्थानमा अग्रता कायम राखेको छ।
नेकपा एमाले दोस्रो दल बन्ने देखिएको छ। प्रतिनिधिसभामा अहिलेसम्म ४१ सिट जितेको एमालेले दुई स्थानमा अग्रता लिइरहेको छ।
प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन आवद्ध दल नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सात स्थानमा जित हासिल गर्नुका साथै एक स्थानमा अग्रता कायम राखेको छ। जनता समाजवादी पार्टीले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले एक स्थान र स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभातर्फ ५ स्थानमा जित हासिल गरेका छन्।
यस नतिजालाई आधार मान्दा अहिलेसम्म प्रत्यक्षतर्फ सत्ता गठबन्धनले ८७ स्थानमा जित हासिल गरेको छ। समानुपातिकतर्फको नतिजालाई जोड्दा गठबन्धनको बहुमत पुग्ने देखिएको छ।
बहुमत पुग्ने देखिएसँगै सत्ता गठबन्धनका नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन्। नेताहरुले चुनावकै क्रममा गठबन्धनको सरकार बन्ने र यो गठबन्धन लामो समय जाने बताएका थिए।
सम्भावित समीकरणका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल छलफलमा जुटिसकेका छन्। हिजो शनिबार बालुवाटारमा भएको भेटमा उनीहरूबीच गठबन्धनको बैठक बोलाउने समझदारी भएको बताइएको छ। शुक्रबार देउवाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि संवाद गरेका थिए।
गठबन्धनको बहुमत हुनेमा ढुक्क कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डको मुख्य चासो पहिलो चरणमा को प्रधानमन्त्री बन्ने र राज्यशक्तिका मुख्य पदहरूको बाँडफाँट कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ। गठबन्धनको मुख्य दल कांग्रेसमै प्रधानमन्त्रीका थुप्रै आकांक्षी छन्। माओवादी अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीमा आँखा लगाएका छन्। नेकपा एसका अध्यक्ष माधव नेपालले पनि चुनाव जितेका छन्।
खासगरी देउवा र प्रचण्ड प्रधानमन्त्रीका दाबेदार हुन्। आलोपालो गर्ने विषयमा उनीहरू लचिलो भए पनि पहिलो पालो कसको भन्नेमा भित्रभित्रै रस्साकस्सी चलिरहेको छ । यही पृष्ठभूमिमा बाह्य चासोसमेत देखिन थालेको छ। शनिबार बालुवाटारमा देउवासँग करिब एक घण्टा छलफल गरेर माओवादी अध्यक्ष प्रचण्ड निस्किएलगत्तै भारतीय राजदूत नवीन श्रीवास्तव पुगेका थिए।
राजदूत श्रीवास्तवले निर्वाचन परिणाम र सरकार निर्माणका विषयमा चासो राखेका थिए। उनले गठबन्धनको बहुमत पुग्ने-नपुग्ने र सरकार निर्माण कसरी हुन्छ भन्नेबारे पनि देउवासँग जिज्ञासा राखेका थिए। देउवाले प्रत्यक्ष र समानुपातिकतर्फको पूर्ण परिणाम आउँदा गठबन्धनले नै सरकार बनाउन सक्ने गरी बहुमत ल्याउने बताएका थिए।
सत्ता गठबन्धनबाट वर्तमान प्रधानमन्त्री देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, नेता प्रकाशमान सिंह, शशांक कोइराला प्रधानमन्त्रीका आकांक्षी छन्। निर्वाचित हुनेबित्तिकै गगनले आफू अब संसदीय दलको नेताका लागि तयारीमा जुटिसकेको बताएका छन्। पहिलोपटक निर्वाचन जितेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई समर्थन गर्ने बताएका छन्।
पौडेलले पनि भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन्। पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् भने नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन्। सरकारको नेतृत्व गर्ने विषयमा पार्टीका अरु नेताहरुसँग पनि पौडेलले छलफल गर्ने उनी निकट एक नेताले बताए।
यहीबीच नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले नै गर्ने दाबी गरेका छन्। शनिबार नेपाल समयसँग कुरा गर्दै प्रवक्ता महतले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व कांग्रेसले गर्ने र गठबन्धन दलकै सरकार बन्ने बताएका हुन्। मुलुकमा स्थिरता र समृद्धिका लागि लोकतान्त्रिक बाम गठबन्धनको सरकार बन्नु आवश्यक रहेको उनको तर्क छ।
त्यसो त अध्यक्ष केपी शर्मा ओलीले पनि माओवादी अध्यक्ष प्रचण्डलाई सम्पर्क गरी सहकार्यको प्रस्ताव राखेको समाचार बाहिरिएपछि सम्भावित समीकरणका विषयमा आमचासो बढेको छ। तर सत्ता गठबन्धनकै बहुमत पुग्ने भएपछि माओवादी एमाले समीकरणको सम्भावना टरेको छ। विद्यमान गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणको गृहकार्यमा लाग्न नेताहरू स्पष्ट रहेको कांग्रेसका एक नेताले बताए।
सरकार निर्माणमा पहलकदमी लिन खोजेका एमाले अध्यक्ष ओली पर्ख र हेरको स्थितिमा छन्। मतगणना मध्यतिर पुग्दै गर्दा सत्ता गठबन्धनको बहुमत नपुग्ने र एमाले पहिलो दल हुने सम्भावना देखिएको थियो। त्यसैबेला ओलीले प्रचण्डलाई टेलिफोन गरी सहकार्यमा जान सकिने सन्देश दिएका थिए। तर, गठबन्धन बहुमतमा पुग्ने सम्भावना बढेपछि एमाले पछि हटेको छ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको साथमा माओवादीलगायत दललाई समेटेर आफू नेतृत्वको सरकार बनाउने अंकगणितमा ओली रहेको बताइएको छ। चितवनबाट निर्वाचित रविले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताइसकेका छन्। लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताएका छन्।
प्रकाशित: Nov 27, 2022| 10:49 आइतबार, मंसिर ११, २०७९