काठमाडौं- गत साता (४ मंसिर) मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना एक साता बित्दा पनि सकिएको छैन। अधिकांश स्थानको अन्तिम मतपरिणाम आइसके पनि केही स्थानमा गणना जारी छ, केहीमा विवादका कारण रोकिएको छ र केहीमा गणना नै सुरु भएको छैन। दोलखा, स्याङ्जा र बाजुरामा मतगणना सुरु हुन नसकेको हो।
नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ। यस्तो अवस्थामा ठूला राजनीतिक दलहरूले सरकार गठनमा चासो देखाउन थालेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपरिणामअनुसार सहज रूपमा सरकार गठन नहुने परिस्थिति बनेको बताइसकेका छन्। बहुमतको लक्ष्यसहित कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावी तालमेल गरे पनि त्यो सफल हुने नहुने यकिन भएको छैन। एमाले पनि १५० सिटको लक्ष्यसहित चुनावी मैदानमा गएको थियो। एमालेका लागि पनि त्यो सम्भव हुन सकेन।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये आज (आइतबार) बिहानसम्म १५३ सिटको अन्तिम परिणाम आइसकेको छ। समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ र कसको कति सिट आउँछ भन्ने लगभग तय भइसकेको छ।
प्रतिनिधिसभामा समानुपातिकसहित २७५ सिट छन्। प्रत्यक्षतर्फ देशभरबाट १६५ जना निर्वाचित हुन्छन् भने देशभर पार्टीले पाएको सिटका आधारमा धेरै मत ल्याउने दलले ११० सिट जित्छन्।
नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ। यस्तो अवस्थामा ठूला राजनीतिक दलहरूले सरकार गठनमा चासो देखाउन थालेका छन्।
सरकार बनाउन कम्तिमा पनि सामान्य बहुमत चाहिन्छ संसद्मा। त्यो भनेको १३८ हो। अहिलेसम्मको अवस्था हेर्दा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले सामान्य बहुमत पुर्याउने देखिएको छ। यो गठबन्धनमा कांग्रेससहित माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चा छन्। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनका विषयमा सत्ता साझेदार दल माओवादीका अध्यक्ष प्रचण्डसँग एक चरण छलफल पनि गरिसकेका छन्। पार्र्टीभित्र पनि प्रचण्डले सरकार गठनको सम्भावनाबारे शनिबार छलफल गरेका थिए।
उता एमाले पनि गठबन्धन गरेर चुनावमा गएको छ। उसको नेतृत्वमा जसपा र राप्रपा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा बिना कुनै गठबन्धन चुनाव लडेका हुन्। यिनले ३३ सिट जितेका छन्।
कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र लडेर जितेका अमरेशकुमार सिंह, एमाले छाडेका पूर्व माओवादी प्रभु साह र उनी निकट किरणकुमार साहले पनि जितेका छन्। उनीहरु पनि कुनै न कुनै गठबन्धनमा जान सक्छन्।
पछिल्लो आकडा हेर्ने हो भने सत्तारुढ गठबन्धनको कुल सिट १३७ पुगेको छ, जुन बहुमतभन्दा मात्र एक कम हो। तीन ठाउँको मतगणना अझै बाँकी छ। त्यहाँबाट पनि १२ सिट गठबन्धनले ल्याउने सम्भावना बाँकी नै छ।