काठमाडौं- प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणना अनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना बढेको छ।
आज बिहान ७:४५ बजेसम्मको तथ्यांकअनुसार एकीकृत समाजवादीले २ लाख १४ हजार ७ सय ७५ समानुपातिक मत प्राप्त गरेको छ।
प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ माथि मत ल्याउने राजनीतिक पार्टीले राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ।
जसअनुसार यसपटक मतदाताको कूल संख्या १ करोड ७९ लाख ८८ हजार हुँदा अनुमानित यसको ६० प्रतिशत मत खसेको भए कूल मतको संख्या १ करोड ७ लाख ९३ हजार १४२ हुन्छ। यसमा अनुमानित ९० प्रतिशत मत सदर भएमा कूल सदर मतको संख्या ९७ लाख १३ हजार ८२७ आसपास हुन्छ। अब यसको ३ प्रतिशत २ लाख ९१ हजार ४१५ आसपास हुन्छ।
यसरी हेर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेको दलले ३ लाखजति मत प्राप्त गरेमा उसले राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ।
अघिल्लो हिसाबअनुसार थ्रेसहोल्ड पार गर्न २ लाख ९१ हजार ४१५ मत ल्याउनुपर्ने हुन्छ। यस आधारमा २ लाख १४ हजार ७ सय ७५ मत प्राप्त गरिसकेको एकीकृत समाजवादीले अब कम्तीमा ८० हजार र बढीमा एक लाख मत ल्याए राष्ट्रिय दल बन्ने छ।