सर्लाही- सर्लाही-२ बाट प्रतिनिधि सभा सदस्यमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव विजयी भएका छन्। नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराएका हुन्।
यादव र महतो दुवै गठबन्धनमै भए पनि मित्रवत प्रतिस्पर्धामा उत्रेका थिए। सत्ता गठबन्धनतर्फका यादवले गठबन्धनकै महतोलाई २ हजार ११ मतान्तरले पराजित गरेका हुन्। यादवले २३ हजार ५२९ मत ल्याउँदा महतोले २१ हजार ५१८ मत पाए। जसपा-एमाले गठबन्धनका एमाले उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत पाए।
यस क्षेत्रबाट यादव लागातार तेस्रोपटक विजयी भएका हुन्। प्रतिनिधि सभामा महतोविरुद्ध यादवको यो दोस्रो जित हो। यसअघि २०७० को निर्वाचनमा पनि यादवले महतोलाई २ हजार ५ सय मतान्तरले पराजित गरेका थिए।