काठमाडौं– काठमाडौं महानगरले सहकारी संस्थालाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ। महानगरअन्तर्गतको सहकारी विभागले सहकारी संस्थालाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न सूचना जारी गरेको हो।
पुस मसान्तसम्म साधारणसभा गर्न र १५ दिनभित्र साधारणसभाले पारित गरेको प्रमाणित प्रतिवेदन पेस गर्न विभागले जारी गरेको सूचनामा उल्लेख छ। विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई साधारणसभामा उपस्थिति अनिवार्य गर्न निर्देशन दिएको छ। साधारणसभामा कुल सदस्य संख्याको कम्तीमा ५१ प्रतिशत सदस्य उपस्थित नभए गणपूरक सख्या नपुग्ने भन्दै विभागले उक्त संख्यासहित साधारणसभा सञ्चालन गर्न भनेको छ।
साधारणसभामा सदस्यको भूमिकालाई सक्रिय बनाउन, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन एवं पेस हुने अन्य सबै प्रतिवेदन तथा विषयमाथि पर्याप्त छलफल गर्न विभागले निर्देशन दिएको छ। सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन हुने भए प्रचलित कानुन, मापदण्ड एवं विनियमबमोजिमको योग्यता पुगेका सदस्यमध्येबाट निर्वाचित गर्न विभागले निर्देशन दिएको छ।
साधारणसभाबाट चालू आर्थिक वर्षको संस्थाको हिसाबकिताबको लेखा परीक्षण गर्न एक जना लेखा परीक्षक र आवश्यकतानुसार वैकल्पिक लेखा परीक्षक नियुक्तिको निर्णय गर्ने र निजको पारिश्रमिक तोक्ने, संस्थाको विनियम संशोधन, कार्यविधि, नियमावली, नीति साधारणसभाबाट पारित गर्न भनिएको छ। तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर कुनै कारोबार र लगानी नगर्न तथा वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न पनि विभागको निर्देशन छ।