काठमाडौं– इलाम १ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले धाँधली भएको दाबीसहित पुनः मतदानको माग गरेका छन्। मतगणनाका क्रममा एमालेका उम्मेदवार महेश बस्नेतसँग पछि परेपछि खनालले धाँधली भएको आरोपसहित पुनः मतदानको माग गरेका हुन्।
मतगणनाका क्रममा सुरुमै ५ सय मत गायब भएको पाइएपछि आफूले त्यसमा विरोध जनाएर पुनः मतदान गर्नुपर्ने मागसहित औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताए। खनालले शनिबार गणना भएको ६ वटा केन्द्रको मतपेटिकामा पनि खसेभन्दा २६६ बढी मत पाइएको दाबी गरे। यसबारे प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरिसकेको उनले बताए।
इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेत खनालभन्दा २ हजार ४५५ मतले अगाडि छन्। बस्नेतले १८ हजार ५४२ मत ल्याएका छन् भने खनालले १६ हजार ८७ मत ल्याएका छन्।