काठमाडौं- नुवाकोटको प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित भएका छन्।
शनिबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका तामाङ १७ हजार २४९ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयसिंह लामा (तामाङ) ले ९ हजार १२४ मत ल्याएका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।
यसअघि विक्रम संवत् २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा समानुपातिक प्रणालीबाट सांसद भएका तामाङ विक्रम संवत् २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोष्टबहादुर बोगटीलाई पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटका २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा १–१ र प्रदेशसभामा २–२ पद भागबण्डा गरेअनुसार सबै स्थानमा विजयी हासिल गर्न सफल भएका छन्।