कैलाली- कैलालीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ। कैलालीका सबै पालिकाले अभियानअन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गर्दैछन्। पालिकाले जनचेतना जगाउन बस्तीस्तरमा भेला, छलफल, अभिमुखीकरण, सडक नाटक, विद्यालयस्तरमा खेलकुद, वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगिताजस्ता कार्यक्रम गर्न थालेका छन्।
हिंसा न्यूनीकरणका लागि यस्तो कार्यक्रम गरिएको हो। घरभित्र महिलाले भोगिरहेका हिंसाका घटना अन्त्य भएमा समाजमा शान्ति स्थापना हुने सरोकारवाला बताउँछन्।
टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले हिंसा न्यूनीकरणका लागि ९ वटै वडाका बस्तीस्तरमा प्रभावकारी ढंगले जनचेतना जगाउन योजना बनाएर काम गर्न थालेको बताउँछन्। ‘समाजमा देखिने घटना परिघटनाले महिला पीडित भएको देखिन्छन्। परिवार भित्रको हिंसा हुन नदिएमा धेरै हिंसाका घटनामा कमी आउँछ,’ शाह भन्छन्, ‘त्यसैले बस्तीस्तरमा कार्यक्रम लैजान आवश्यक छ।’
कैलालीको टीकापुरकी सपना (नाम परिवर्तन) का घरमा सधैंजसो झगडा हुन्थ्यो। सासू बुहारी र पतिपत्नीबीच जहिले किचलो हुने सपना अति भएपछि ईलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी गर्न आइन्। प्रहरीकहाँ उनले घरेलु हिंसा भयो भन्दै निवेदन दर्तापछि प्रहरीले उनका श्रीमान् र सासूलाई छलफलमा बोलायो।
‘सासूले नानाथरि कुरा लगाउने, श्रीमान् हरेक रात मदिरा खाएर पिट्ने गर्नुहुन्थ्यो,’ सपनाले भनिन्, ‘४ वर्षको छोरी साथमा थिइन्, घर छोडेर जाउ भने पनि जाने ठाउँ थिएन, सहन नसकेपछि प्रहरीकहाँ न्याय लिए आए।’
प्रहरीले सपनाका सासू र पतिलाई कानूनी व्यवस्था, महिला अधिकारका कुरा सम्झायो। प्रहरीले महिला र पुरुष समान हुन भन्ने कुरा सम्झाएपछि सासू र पतिले गल्ती महसूस गरे। ‘अहिले २ वर्ष भयो, मलाई कुनै खालको हिंसा छैन, श्रीमान् निकै माया गर्छन्, सासूले पनि सबै व्यवहार बदल्नुभयो,’ उनी भन्छिन्, ‘आफूमाथिको अन्याय नहुन पनि हिंसा न्यूनीकरणको शुरूआत हो। म प्रहरीकहाँ नआएको भए मेरो जीवनमा सुख र शान्ति आउने थिएन।’