उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ।
जिल्ला अदालत उदयपुरले २०७२ असार १५ गतेको फैसलामा दोषी करार गरे पनि फरार रहेका रौतामाई गाउँपालिका–७ मुर्कुचीका चन्द्रबहादुर राना मगरलाई त्रियुगा नगरपालिका–५ दमौटीबाट पक्राउ गरेको हो।
ज्यान मार्ने मुद्दामा अदालतले ६ वर्ष कैद सजाय तोकि फरार रहेका मगरलाई गोप्य सुराकीका आधारमा त्रियुगा नगरपालिका-५ दमौटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले मगरलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए।
पक्राउपछि जिल्ला प्रहरी कार्यालय ल्याइएका ५३ वर्षीय मगरलाई शुक्रबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएको छ। प्रहरीले बुझाए लगत्तै अदालतले कैद सजाय भुक्तानका लागि मगरलाई कारागार शाखा गाईघाट पठाएको जनाएको छ।