काठमाडौं- नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ निर्वाचित भएका छन्। सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए।
यही मंसिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार तीन सय ७९ मतको आज बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मतान्तरले विजयी भएका हुन्।
पूर्वमन्त्रीसमेत रहेका तामाङ यसअघि विसं २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले छ हजार एक सय १३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले एक हजार छ सय ११ मत प्राप्त गरे। चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १७ उम्मेदवार भए पनि अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिए।