बुटवल- रुपन्देही-२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन्।
विजयी पौडेलले २७ हजार १४७ मत पाए। स्वतन्त्रका पौडेलले २५ हजार ७८१ र ५ दलीय सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले २१ हजार ९८६ मत पाएका छन्। यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो।
रुपन्देही-२ मा पौडेलको यो चौथो जित हो। निर्वाचन आयोगले पौडेललाई औपचारिक रूपमा घोषणा गर्ने तयारी गरिरहेको छ।
सत्ताधारी गठबन्धनले यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङलाई उम्मेदवार बनाएको थियो। तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि जनमुक्ति पार्टीका थापाले गठबन्धनको समर्थन पाएका थिए। यद्यपि उनी तेस्रो स्थानमा सीमित भए।